झापामा बाइक अनियन्त्रित : दुई युवतीको मृत्यु, चालक गम्भीर

काठमाडौं । झापामा गएराति भएका दुई छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई युवतीसहित तीन जनाको मृत्यु भएको छ । पहिलो दुर्घटना दमक नगरपालिका-१० को सेतुमारी चोकमा भएको हो ।

प्रदेश १-०१-०१५ प १७९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोरङ रतुवामाई नगरपालिका-८ का २७ वर्षीय बिराज थापा, झापा गौरादह नगरपालिका-५ की ३२ वर्षीया जमुना धिमाल र २५ वर्षीया मनचरी (ओमकुमारी) राई घाइते भएका थिए । घाइतेलाई दमक अस्पतालमा लगिएकोमा उपचारकै क्रममा जमुना धिमाल र मनचरी राईको मृत्यु भएको प्रहरीले जनाएको  छ। मोटरसाइकल चालक बिराज थापाको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड रेफर गरिएको छ ।

दोस्रो दुर्घटना पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका-१० किरात चोकमा भएको हो । मे ९ प ६२४ नम्बरको मोटरसाइकल रोकेर राखिएको को २ त ४१४५ नम्बरको ट्रयाक्टरमा ठोकिँदा झापा मेचीनगर नगरपालिका-५ का ४२ वर्षीय सन्तोषकुमार लिम्बूको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल पछाडि सवार दमक नगरपालिका-५ की ३५ वर्षीया अनिता राई घाइते भएकी छिन् । उनको हाल बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *