वर्तमान सत्ता गठबन्धनको उद्देश्य राजनीतिक स्थिरता र विकासमा गतिशीलता : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको राजनीतिक गठबन्धनको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै विकासमा गतिशीलता ल्याउनु रहेको बताएका छन् ।
काठमाडौँमा आज आयोजित ‘दी राइजिङ नेपाल’ को ५९औँ वार्षिकोत्सव समारोहमा उनले देश विकासको मुख्य बाधकका रूपमा रहेको राजनीतिक अस्थिरता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।
पटक पटक सरकार बन्ने र परिवर्तन हुने प्रवृत्तिले निर्माणाधीन विकास योजना, नीति, नियम र आधारहरू लथालिङ्ग भएको बताउँदै सरकारका प्रवक्ता गुरुङले त्यसैले वर्तमान गठबन्धन सरकारले राजनीतिक स्थायित्वसहितको विकासमा जोड दिएको उल्लेख गरे । ‘राजनीतिक अस्थिरता भयो भने सरकार अस्थिर हुने र सरकार अस्थिर हुँदा त्यसको असर विकास निर्माण र जनतामा समेत पर्ने गरेको छ । तसर्थ देशका दुई ठूला दल एमाले र कांग्रेसको सहकार्यमा सरकार गठन अत्यावश्यक थियो, सोहीअनुसार हामीले गरेका छौँ’, उनी भन्छन्, ‘विगतमा हामी सधैँ सत्ता र राजनीतिक अस्थिरतामै रुमलियौँ, जसले गर्दा मुलुकको समृद्धि ओझेलमा परिरह्यो । अब यस्तो हुँदैन, यो सरकार जनतामा स्थायित्व महसुस गराउन अभ्यासरत छ ।’