अनिल साहले खेल गुमाउँदा जनकपुर दबाबमा, को बन्ला फाइनल पुग्ने पहिलो टोली ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा आज लिगको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १ बजे कीर्तिपुरमा सुरु हुने भएको हो ।
जारी प्रतियोगितामा सुदूरपश्चिम बलियो देखिएको छ । लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको सुदूरपश्चिको ब्याटिङ र बलिङ लयमा छ । लिगको सुरुवाती खेलहरुमा चमत्कारपूर्ण प्रदर्शन गरेको जनकपुरको प्रदर्शन पनि क्वालिफायरमा बलियो हुने अपेक्षा गरिएको छ ।
जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा आत्मसाथ गरेको थियो । सुदुरपश्चिम र जनकपुरबिचको पहिलो क्वालिफायर खेलको विजेता सोझै फाइनलमा पुग्ने छ ।
आज जनकपुरका लागि कप्तान अनिल साहले एनपीएलका बाँकी खेल गुमाउने भएका छन् । जारी प्रतियोगितामा जनकपुरलाई क्वालिफायरमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेका अनिलको हातमा चोट लागेको छ । अब जनकपुर टिमको कप्तानी आशिफ शेखले गर्ने छन् ।
यता एलिमिनेटरमा चितवन र कर्णालीबिचको खेलमा पराजित टोली बाहिरिनेछ । विजेता टोलीले भने पहिलो क्वालिफायरमा पराजित टोलीसँग फाइनल पुग्नका लागि फेरि प्रतिस्पर्धाको अवसर पाउनेछ । क्वालिफायरको पराजित टोली र एलिमिनेटरको विजेताबिच फाइनलमा पुग्न बिहीबार प्रतिस्पर्धा हुनेछ । फाइनल खेल शनिबार हुनेछ ।