पौष १३ गतेदेखि २६ औं पोखरा सडक महोत्सव हुँदै
काठमाडौँ । पर्यटकीय नगरी पोखरामा पौष १३ गतेदेखि १७ गतेसम्म २६ औं पोखरा सडक महोत्सव २०२४ हुने भएको छ ।
बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सवको आयोजना गर्न लागेको जानकारी दिएको हो ।
पर्यटनको राजधानी पोखरामा रेवानले विगत २५ वर्षदेखि निरन्तर रुपमा सडक महोत्सव गर्दै आएको छ । यो वर्ष पनि विगतमा जस्तै अंग्रेजी नयाँ वर्षको अवसर पारेर २६ औं पोखरा सडक महोत्सव २०२४ गर्ने लागेको महोत्सव संयोजक विकास भट्टराईले जानकारी दिए । उनले आन्तरिक तथा बाह्य पर्यटकलाई अग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा लेकसाइड क्षेत्रको करिब ३ किलोमटिर क्षेत्रमा महोत्सव आयोजना हुने उल्लेख गरे ।
उनले ‘सडक मै खाउँ,सडक मै नाचौँ, सडकमै रमाऊँ’भन्ने उद्देश्यले सडक महोत्सव आयोजना गरिएको बताए । उनले महोत्सवले पोखराको कला÷संस्कृति प्रवर्द्धन गर्न,स्थानीय स्तरमा उत्पादित सामग्रीलाई बजारीकरण र प्रचारप्रसार तथा ब्राण्डिङ गराउन पोखरा सडक महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
उनले सडक महोत्सवले स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान,विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनामा समेत योगदान पुर्याउने उल्लेख गरे । उनले महोत्सवमा विभिन्न जातजातिका लोपउन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन,लाइभ कन्सर्ट लगायत मुख्य आकर्षण रहेको बताए ।
पाँच दिनसम्म चल्ने महोत्सवमा करिब ५ लाख आन्तरिक तथा बाह्य पर्यटक आउने आँकलन रहेको आयोजकले जनाएको छ । अंग्रेजी नयाँ वर्षको लागि पोखराका होटलहरु करिब ४० प्रतिशत बुकिङ हुन थालेका छन् । महोत्सवमा रेष्टुरेण्ट अगाडि आफ्नै स्टलहरू राख्ने र महोत्सव क्षेत्रमा बाहिरबाट आउन नपाउने व्यवस्था गरेको छ । नयाँ वर्षको लागि पोखरामा ७ सय बढी होटलमा ५० हजार बेडहरू उपलब्ध रहेको रेवानले जनाएको छ ।