ओमोडा ई५लाई युरो एनक्याप र एनक्यापमा डबल फाइभ–स्टार सेफ्टि रेटिङ
काठमाडौँ । ओमोडा एन्ड जेइकोको पछिल्लो ब्याट्री इभि ओमोडा फाइभले युरो एनक्याप र एनक्याप दुवैबाट प्रतिष्ठित फाइभ–स्टार सेफ्टि रेटिङ हासिल गरेको छ ।
यसअघिको ग्लोबल मोडल ओमोडा फाइभले पनि युरो एनक्याप, एनक्याप, र ए.एस.इ.ए.एन. एनक्याप जस्ता प्रमुख सेफ्टि संस्थाहरूबाट फाइभ–स्टार रेटिङ प्राप्त गरेको थियो ।
सुरक्षाको त्यही श्रेणीलाई निरन्तरता दिँदै, ओमोडा इफाइभको बिइभि संस्करणले अन्य परीक्षणको साथ ‘फ्रन्टल अफसेट’ र ‘ओब्लिक पोल टेस्ट’ आदि थप दुर्घटनाका परीक्षणहरू पार गरेर सुरक्षाका सम्पूर्ण क्षेत्रहरूमा उत्कृष्ट पर्फमेन्स सुनिश्चित गरेको कम्पनीले जनाएको छ ।
यसले युरो एनक्यापमा सेफ्टि असिस्ट सिस्टम (सुरक्षा सहायता प्रणाली) को लागि ८८ प्रतिशत अंकका साथ एडल्ट अकुपेन्ट प्रोटेक्सन (वयस्क यात्रु सुरक्षा) र चाइल्ड अकुपेन्ट प्रोटेक्सन (बाल यात्रु सुरक्षा) को लागि ८७ प्रतिशत अंक प्राप्त गरेको कम्पनीले जनाएको छ । त्यसैगरी एनक्याप परीक्षणमा ओमोडा इफाइभले एडल्ट अकुपेन्ट प्रोटेक्सनको लागि ८७ प्रतिशत, चाइल्ड अकुपेन्ट प्रोटेक्सनको लागि ८८ प्रतिशत, र सुरक्षा सहायताका लागि ८३ प्रतिशत अंक प्राप्त गरेको छ ।
ओमोडा इफाइभमा ७८ प्रतिशत रेसियो (अनुपात) को ‘हाइ–स्ट्रेन्थ स्टिल बडी’ रहेको छ जसकारण अत्याधुनिक र अधिकतम सुरक्षा क्षमता सम्भव हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गाडीको अगाडिको भागमा ‘अल्ट्रा–हाइ स्ट्रेन्थ स्टिल’ र साइड पिलरमा ‘रिइन्फोर्स्ड स्टिल’ समावेश गरिएको छ । यी सुविधाहरूले गाडी दुर्घटना हुँदा स्टेबलिटि (स्थिरता) सुनिश्चित गर्दछ र अगाडीको भागमा गाडी ठोक्किँदा ‘क्याबिनमा पर्ने असर (डिफर्मेसन) कम गर्दछ । यसले गर्दा गाडीमा सवार सबैको प्रभावकारी सुरक्षा सुरक्षित हुन्छ ।
कम्पनीले ‘स्टेबल चाइल्ड सिट इन्टरफेस’ र अप्टिमाइज्ड एयरब्याग सुरक्षाले गर्दा ओमोडा इफाइभ बाल यात्रुको सुरक्षामा पनि उत्कृष्ट रहेको जनाएको छ । ओमोडा इफाइभमा अत्याधुनिक सक्रिय सुरक्षा प्रविधिहरू पनि रहेको छ ।
यसको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रणालीले अन्य सडक यात्रुबाट हुने सम्भावित जोखिमबाट बचाउने कम्पनीको दाबी छ । इफाइभको फराकिलो स्पिड रेन्ज, र छिटो रेस्पोन्स–टाइमले गर्दा कोलिजन रिस्क (दुर्घटनाका जोखिम) न्यूनीकरण गर्दछ ।
कम्पनीले उत्कृष्ट सुरक्षाका अलावा, ओमोडा इफाइभमा ४३० किमिको डब्लुएलटिपि रेन्ज, २८ मिनेटभित्रै ३० प्रतिशत बाट ८० प्रतिशत चार्ज हुने फास्ट रिचार्जिङ सुविधा र शान्त ड्राइभिङ अनुभवका लागि मात्र ६२.९ डेसिबलको नोइज–लेभल (१२० किमी प्रतिघण्टाको स्पिडमा) रहेको जनाएको छ ।
ओमोडा एन्ड जेइको, विश्वव्यापी रूपमा सबैभन्दा छिटो–बढ्ने व्यक्तिगत कार ब्रान्ड हो जसको हाल विभिन्न ३२ देश तथा क्षेत्रहरूमा १००० भन्दा बढी सोरुम र ३,७०,००० भन्दा बढी प्रयोगकर्ताहरू रहेका छन् ।