नेपाललाई एक खेल अगावै हङकङविरुद्धको सिरिज
काठमाडौं । नेपाली यु–१९ टोलीले एक खेलअगाबै हङकङसँगको सिरिज जितेको छ ।
बुधबार भएको खेलमा हङकङमाथि २२६ रनको फराकिलो जित निकाल्दै नेपालले सिरिज घरमै राखेको हो । नेपालले यसअघि तीन विकेटको जित निकालेको थियो । अब नेपालले अन्तिम खेल शुक्रबार खेल्नेछ ।
नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको हङकङले २९.४ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सक्यो ।
हङकङका कप्तान सिव माथुरले सर्वाधिक १६ रन बनाए । २८ बल खेलेका उनले दुई चौका प्रहार गरे । आरेज दार १४ र प्रित मन्गुकिया १४ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
नेपालका दयानन्द मण्डलले सर्वाधिक चार विकेट लिए । ६ ओभर बलिङ गरेका उनले दुई मेडनसहित १७ रन खर्चिए ।
अपराजित पौडेल र सिब्रन श्रेष्ठको नाममा समान दुई विकेट रह्यो। यस्तै, सन्तोष यादव र नरेन भट्टले पनि एक विकेट आफ्नो पोल्टामा पारे ।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले सोहिल कुँवर र सन्तोष यादवको अर्धशतकसँगै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९७ रन बनाएको थियो ।
ओपनर सोहिलले सर्वाधिक ८१ रन बनाए । १०९ बल खेलेका उनले ९ चौका र एक छक्का प्रहार गरे। सन्तोष ६६ रनमा अविजित रहँदा दिलाश अलि ४१, अभिषेक तिवारी २६ र अपराजितले ११ रन बनाए ।