विद्युत् प्राधिकरणले विद्युत् कटौती गरेपछि मारमा उद्योगी
‘कुनै पनि स्वार्थमा उद्योगहरुमा विद्युत् कटौती गर्नुहुँदैन’
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् कटौती गरेपछि उद्योगीहरु मारमा परेका छन् । प्राधिकरणले प्रसारण लाइनहरु मर्मत गर्नुपर्ने भन्दै बीरगञ्ज र बुटवल क्षेत्रका उद्योगहरुमा विद्युत् आपूर्ति बन्द गर्नुपरेको बताएको छ ।
हिउँदयाम सुरुभएसँगै खोला तथा नदीहरुमा पानीको बहाब घट्दा जलविद्युत आयोजनाहरुको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने एवं पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रान्समिसन लाइनहरुको मर्मत कार्य गर्नुपर्ने भएका कारण उद्योगहरुमा विद्युत् कटौती गर्नुपरेको बताए ।
‘ट्रान्समिसन लाइनहरूको मर्मत कार्य गर्नुपर्ने र भारतबाट पनि पीक टाइममा विद्युत् आयात गर्न नदिएको कारण उद्योगहरूमा विद्युत् कटौती गर्नुपरिरहेको छ,’प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने ।
कार्यकारी निर्देशक घिसिङका अनुसार धेरै विद्युत् खपत हुने समय बेलुका ५ बजेदेखी राति ९ बजेसम्म भारतबाट विद्युत् आयात गर्न दिइएको छैन । उनले भने ‘दुईतीन दिनदेखि प्रसारण लाइनमा समस्या आएको थियो । ढल्केवरबाट नवलपुरसम्मको प्रसारण लाइनमा एउटा सर्किट चुँडिएको कारणले ६, ७ वटा टावरमा मर्मत गर्नुपर्ने भयो । त्यसलाई स्टिर्निङ गर्नको लागि हाम्रो एसटिएलएस भन्ने कन्डक्टर, स्पेसल क्लासको कन्डक्टर हो । त्यसलाई तान्नको लागि अलिकति समय लागेको हो । त्यसकारणले विरगन्ज क्षेत्रमा र पश्चिमदेखि बुटवलसम्मका उद्योगहरूमा दिउँसो पनि हामीले कममा विद्युत् चलाउनु पर्ने समस्या भएको हो ।’
गत असोजमा आएको बाढीले ४५६ मेगावाट क्षमता रहेको अप्पर तामाकोशीमा क्षति पुर्याउँदा विद्युत् आपूर्तिमा समस्या भइरहेको घिसिङले बताए । अप्पर तामाकोशीको निर्माण कार्य भइरहेकोले पूर्णरुपले सञ्चालनमा आउन केही समय लाग्ने बताउँदै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने,‘अप्पर तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत् प्रवाह भएपछि अहिलेको लोडसेडिङ समस्या समाधान हुनेछ ।’
कार्यकारी निर्देशक घिसिङका अनुसार अहिले नेपालमा १६०० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेकोमा (माग) डिमाण्ड १९०० मेगावाटको रहेको छ ।
उनले उत्पादनभन्दा माग बढी भएका कारण उद्योगहरूमा विद्युत् कटौती गर्नुपर्ने बाध्यता रहेको बताए । अन्य ग्राहकहरूले लोडसेडिङको समस्या झेल्नु नपर्ने उनको भनाइ छ ।
उद्योगहरूमा भइहरेको लोडसेडिङको समस्या समाधान गर्न लागिपरेको उनले बताए । उनले पिक समयमा भने उद्योगहरूमा विद्युत् कटौती नगरी सुख्खयाममा नागरिकलाई विद्युत् आपूर्ति गर्न नसकिने बताए । उनले यो हिउँदमा लोडसेडिङ नहुने पनि बताए । लोडसेडिङ हुने चरणमा नरहेको उनले स्पष्ट पारे ।
गत वर्ष जस्तो अप्पर तामाकोशीको विद्युत् गृह सञ्चालनमा नआएको उनले बताए । प्राधिकरणले गलत मनसायले विद्युत् कटौती नगरेको उनले प्रस्ट पारे ।
विद्युत नभएको समयमा चाहिएपछि प्राधिकरणले नभई उद्योगीहरुले प्राधिकरणसंग निहुँ खोजेजस्तो देखिएको उनले बताए । ‘जतिवेला विजुली हुन्छ लिइदिदैनन्,जतिवेला छैन त्यही बेला चाहिन्छ भनेपछि उहाँ(उद्योगी)हरुले निहुँ खोजेको जस्तो छ,यो लुकाउने कुरा हो र ? । खेर जाने विजुली त भारत पठाएर हामी व्यवस्थापन गर्छौ । कहीँ भण्डार गर्न सकिन्छ विजुली भन्ने कुरा, प्राधिकरणले पकेटमा राख्छ ?’ प्रवक्ता घोषले मकालुखबरसंग भने ।
यता विद्युत् प्राधिकरण सञ्चालक समिति अध्यक्ष एवं उर्जा मन्त्री दिपक खड्का भने भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात गर्न लागिएको बताउँछन् ।
मन्त्री खड्काले नेपाल भित्रको आन्तरिक विद्युत् आपूर्तिलाई सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावाट विद्युत् खरिद गर्न लागिएको बताएका हुन् ।
हिउँदमा विद्युत् आपूर्ति सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावाट विद्युत् आयात गर्ने सहमति भएअनुरूप पुस महिनादेखि नै खरिद गरिने मन्त्री खड्काले बताए ।
सरकारले क्षति भएका आयोजनाहरूको निर्माणमा तीव्रता दिएको बताउँदै उनले भने,‘विद्युत् माग र आपूर्ति सहज बनाउने विषयमा हामी गम्भीर छौँ’ । उनले भारतका ऊर्जामन्त्री नेपालमा आउने तयारी रहेको भन्दै भारतका ऊर्जामन्त्री नेपाल आएको बेलामा यस विषयमा छलफल गरिने समेत बताए ।
नेपाल विद्युत् प्राधिकरणले कुनै पनि स्वार्थमा उद्योगहरुमा विद्युत् कटौती गर्न नहुने नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीम घिमिरेले मकालुखबरलाई बताए ।
विद्युत् व्यवस्थापन गर्ने जिम्मेवारी एवं दायित्व उर्जा मन्त्रालय संगै नेपाल विद्युत् प्राधिकरणको रहेको बताउँदै विद्युत् व्यवस्थापन गर्न सक्नुपर्ने घिमिरेले बताए ।
नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा आवश्यक विजुली दिन सक्नुपर्ने परिसंघका उपाध्यक्ष घिमिरेको भनाई छ । माग अनुसार विद्युत आपूर्ति उपलब्ध नभएमा प्राधिकरणले उद्योगहरुलाई विद्युत् कटौतीको विद्युत् सप्लाई सेड्युल (तालिका) दिनुपर्नेमा उनले जोड दिए ।
‘उद्योगहरुमा माग अनुसार विद्युत् आपूर्ति गर्न सकिँदैन भने विद्युत् कटौती गर्नुपूर्व उद्योगहरुलाई सेड्युल दिनुपर्दछ,’उनले भने । भएको विद्युत्लाई अत्याधिक प्रयोग गर्दै अप्पर तामाकोशीको निर्माण कार्य शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्ने उनले बताए ।
विद्युत् प्राधिकरण र उर्जा मन्त्रालय जिम्मेवार भएर लाग्नुपर्ने समेत उनले बताए । उनले लाइसेन्स होल्ड गरेर बस्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।