प्रधानमन्त्रीलाई रश्मिलाको प्रश्न- ऐन महरलाई कहिले कारबाही हुन्छ ?
काठमाडौं । नेकपा एमाले नेता ऐन महरलाई कारबाहीको लागि पीडित भनिएकी रश्मिला धामीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेकी छन् । नेता महरविरुद्ध लामो समयदेखि न्यायको खोजीमा संघर्षरत धामीले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओलीसँग हस्तक्षेपको माग गरेकी हुन् ।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा रश्मिलाले महरबाट आफ्नो र आफ्नो परिवारको जीवन असुरक्षित रहेको गुनासो गरिन् । मंगलबार आमरण अनशन स्थलमा रश्मिला र अभियन्ता आरती रावल गिरीमाथि भएको कुटपिटले उनको पीडा थप गहिरिएको छ ।
राजमति बम ‘रक्षा’ टोलीले प्रहरीकै सामु उनीहरूलाई आक्रमण गरेपछि रश्मिलाले ओलीलाई न्याय र सुरक्षाको लागि सार्वजनिक अपिल गरेकी हुन् । ‘रश्मिलाले भनिन्, ‘प्रहरीकै अगाडि म र आरतीमाथि कुटपिट गरियो । के हामीले सडकमा धर्ना बस्ने अधिकार पनि छैन ? एमाले पार्टीको आडमा महरले मलाई मार्नेसम्मको षड्यन्त्र गरिरहेका छन् ।’
उनले सम्बन्ध विच्छेद गरिसकेकी आफ्नो पूर्वपति र परिवारलाई धम्की दिइएको, हातहतियार देखाइएको र आफ्ना १० वर्षका छोरामाथि मानसिक यातना पुर्याइएको आरोप लगाइन् । रश्मिलाले नेता महरले पार्टीभित्रका धेरै महिलाहरूलाई यौन शोषण गर्दै आएको दाबी गरिन् । उनका अनुसार उच्च अदालत पाटनमा महरविरुद्धको जबरजस्ती करणीको मुद्दा डेढ वर्षदेखि चलिरहेको भए पनि न्यायमा ढिलाइ भइरहेको छ ।
यही कारणले उनले आमरण अनशनको बाटो रोज्नुपरेको बताइन् । ‘अभियन्ता आरती रावल गिरीले पनि नेपालका राजनीतिक दलहरूमा महरजस्ता व्यक्तिहरू संरक्षण पाइरहेको आरोप लगाइन् । ‘यस्ता अपराधीलाई नेताहरूले नै बचाउने प्रयास गर्छन्, जसले न्याय प्रणालीलाई कमजोर बनाउँछ,’ उनले भनिन् ।
रश्मिलाले प्रधानमन्त्री ओलीसँग न्यायको लागि हस्तक्षेप गर्न आग्रह गर्दै भनिन्, ‘म आफ्नो र छोराको जीवन बचाउन संघर्ष गरिरहेकी छु । अब सरकार र समाजले मेरो आवाज सुन्नुपर्छ।’ रश्मिलाले विगतमा न्याय नपाउँदा आत्मदाहको प्रयास गरेकी थिइन् ।