फेरि सरकार ढल्ने चर्चा, के भन्छन्- नेताहरू ?
काठमाडौं । गत असार १६ गते मध्यराति नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमति हुँदै सत्ता साझेदारीको जगमा नयाँ सरकार गठन भयो । यसका आधारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असार ३१ गते चौथो पटक प्रधानमन्त्री बने । तर, सरकार गठन भएको २४ घण्टा नबित्दै सरकार लामो समय टिक्ने छैन भन्ने हल्ला सुरु भयो । त्यसपछि बारम्बार सरकार परिवर्तनको चर्चा हुने स्थिति बन्यो ।
कांग्रेस-एमालेबीच सत्ता साझेदारी भएपछि सत्ताबाट बाहिरिन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य नेताहरूले यो गठबन्धन लामो समय टिक्नेमा सन्देह व्यक्त गर्दै आएका छन् । सरकार गठनको केही दिनमै कतिपय विश्लेषकहरूले पनि कांग्रेस-एमाले गठबन्धनको आयु गणना सुरु भएको तर्क गरे ।
विपक्षी दलका नेता प्रचण्डले साउन २२ गते विराटनगरमा ओली सरकार धेरै लामो नजाने भविष्यवाणी गर्नुभयो, र पछि दशैँपछि सरकार ढल्ने दाबीसमेत गरे । प्रधानमन्त्री ओलीले भने पटक-पटक सरकारको स्थायित्वबारे आश्वासन दिनुपरेको छ । सत्ता साझेदार कांग्रेस र एमालेका शीर्ष नेताहरूको सहमति बलियो रहेको बताउँदै, उहाँले कर्मचारी र सुरक्षाकर्मीका कार्यक्रमहरूमा समेत सरकार नढल्ने प्रष्ट्याए ।
यसबीच भदौ १० गते काठमाडौंमा गौरा पर्व समारोहमा सत्ता साझेदार नेताविरुद्ध नाराबाजी भएपछि सरकार ढालिने चर्चा थप चुलियो । दशैँ र तिहारको आसपासमा पनि सरकार ढल्ने अफवाहले बजार ततायो । चीन भ्रमण र बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) सम्झौतासँग जोडेर पनि सरकार ढालिने हल्ला ९९ प्रतिशत ग्यारेन्टीको रूपमा प्रचार गरियो ।
प्रधानमन्त्री ओलीले सरकारको स्थायित्वबारे बारम्बार स्पष्टीकरण दिनुपर्ने स्थिति रह्यो । असार १६ गते गठबन्धन बन्दा ‘अन्तिम विकल्प’को सरकार मानिएको यो अभ्यासलाई सफल बनाउन कांग्रेस र एमालेबीच लामो छलफल भएको थियो । गठबन्धनको पाँच महिनामा पनि प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक-पटक सत्ता हस्तान्तरणको समयसीमा तोकेर सहमतिको पालना गर्न सचेत रहेको बताउनु परेको छ ।
तर, साना असमझदारीका बाबजुद कांग्रेस र एमालेका नेताहरूले सत्ता गठबन्धन बलियो रहेको दाबी गरिरहेका छन् । सरकार गठन भएको दिनदेखि नै नेपाली राजनीतिक वृत्तमा सबैभन्दा चासोको विषय बनेको यो सरकारको भविष्यले नेपाली राजनीतिको अस्थिरतालाई थप उजागर गरिरहेको छ । पाँच महिनाको अवधिमा सत्ता टिकाउने प्रयास र अस्थिरताको चर्चा सँगसँगै चलेकोले यो सरकारको स्थायित्व मात्र होइन, सत्तासाझेदारहरूको परिपक्वता पनि अब समयले नै मूल्यांकन गर्नेछ ।
स्थिरता र सुशासनका लागि सरकार : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राजनीतिक स्थिरता, सुशासन र विकासको मार्गप्रशस्त गर्न गठित भएको बताएका छन् । अघिल्लो सरकारप्रति इशारा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिक अन्योल र अस्थिरता चुलिएको अवस्थामा कांग्रेस-एमालेको सहकार्य अपरिहार्य बन्यो । हामी देशलाई विकास र स्थायित्वतर्फ अघि बढाउन दृढ छौँ ।
उनले सरकारप्रति आलोचना गर्नेहरूलाई जवाफ दिँदै भने,‘सरकार ढल्छ भन्ने धारणाले कुनै अर्थ राख्दैन । दुई ठूला दलले मिलेर मुलुकको समृद्धि र समाज सुधारको यात्रालाई अघि बढाएका छन् ।’
गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तनको चर्चा निराधार भएको दाबी गर्दै कुनै हालतमा सरकार नढल्ने स्पष्ट पारेका छन् । रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय ‘रअ’का पूर्व एजेन्टको टिप्पणीबारे प्रतिक्रिया दिँदै उनले नेपालका आन्तरिक मामिलामा बाह्य टिप्पणीको कुनै अर्थ नरहेको बताए।
कांग्रेस-एमाले गठबन्धनका एक सूत्राधारका रूपमा उनले यो सरकार बलियो भएको दाबी गरे । उनले अस्थिरता चाहनेहरूले फैलाएको हल्लामा कुनै सत्यता नभएको उल्लेख गर्दै भने, ‘साउनमा सरकार ढल्छ भने, दशैँ–तिहारमा ढल्छ भने तर त्यो सबै असत्य साबित भयो। अहिले पनि सरकार ढल्ने हल्ला चलाइएको छ, तर यो सरकार ढल्नेवाला छैन ।’
एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकारलाई कसैले चाहेर पनि ढाल्न नसक्ने दाबी गरेका छन् । दुई ठूला दलको सहकार्यमा बनेको सरकार बलियो भएको बताउँदै उजले समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रको साझा एजेण्डा भएको र सरकार सोही दिशामा अघि बढिरहेको स्पष्ट पारे ।
महासचिव पोखरेलले भने, ‘लोकप्रियताको माध्यमबाट नयाँ दल निर्माण गर्न राजनीति र ठूला दलप्रति निराशा फैलाउने काम भइरहेको छ । तर यो सरकार संसद्का दुई प्रमुख दलको समर्थनमा बनेको छ, त्यसैले कसैको चाहनाले यो सरकार ढल्दैन ।’