रविदाइले ‘फोटो मात्र होइन, यिनीहरूले भिडिओ पनि पठाएका छन्’ भन्नुभयो : स्वकीय सचिव बोहरा
काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा तस्बिर भाइरल भएको छ, जसलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रहरी हिरासतमा लिएको तस्बिर भनिएको छ ।
तस्बिरमा एक व्यक्तिलाई सिरक ओढेर सुतिरहेको देख्न सकिन्छ, तर अनुहार प्रस्ट नदेखिने भएकाले ती व्यक्ति लामिछाने नै हुन् भन्ने विषयमा विवाद छ । रास्वपाका नेताहरूले भने यो सभापति लामिछानेकै भएको र तस्बिर जानाजान सार्वजनिक गरिएको आरोप लगाएका छन् ।
लामिछानेका स्वकीय सचिवसमेत रहेका पार्टीका सह-कोषाध्यक्ष दीपक बोहराले सामाजिक सञ्जालमा तस्बिर साझा गर्दै कास्की प्रहरीले हिरासतको सिसिटिभी फुटेज स्क्रिनसट गरेर सार्वजनिक गरेको दाबी गरेका छन् । त्यसप्रति आपत्ति जनाउँदै रास्वपा नेता बोहराले लेखेका छन्, ‘अन्याय गर्नुको पनि हद हुन्छ। रविदाइ हिरासत कक्षमा सुतेको सिसिटिभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला ।’
त्यसपछि भिडिओ लाइभमा उनले तस्बिरबारे सभापति लामिछानेसँग आफ्नो कुरा भएको बताएका छन् । उनकाअनुसार अहिले प्रहरीले हिरासत प्रवेश र सुरक्षामा कडाइ गरेको छ । ‘सार्वजनिक तस्बिर रवि दाईकै हो भन्ने कुरामा द्विविधा रहेन । उहाँ (रवि)ले म हिरासतका सुरक्षित छैन भनेर पटक पटक भनेका छन्,’ बोहराले भने, ‘उहाँले दीपक म क्यामेरातिर बसेर लेख्न पनि सक्दैन । कसैले जुम गरेर हेर्छजस्तो लाग्छ मलाई । फोटो मात्र होइन यिनीहरूले भिडिओ पठाएका छन् कतै । त्यसको छानबिन गर्नु भन्नु भएको छ ।’
बोहराको भिडिओ लाइभ :-
के भन्छ कास्की प्रहरी ?
सामाजिक सञ्जालमा भाइरल भएको तस्बिरबारे जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान थालेको जनाएको छ । तस्बिर लामिछानेकै हो वा होइन भन्ने प्रश्नमा डिएसपी वसन्तकुमार शर्माले भने, ‘त्यो तस्बिर कसरी बाहिरियो भन्ने पत्ता लगाउन अनुसन्धान गरिरहेका छौँ ।’
लामिछाने अहिले सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका छन् । तस्बिर प्रकरणले हिरासतको गोपनीयता र सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ जसका कारण प्रहरी प्रशासन दबाबमा परेको देखिन्छ । प्रहरीले घटनाको सत्यतथ्य छिटो पत्ता लगाउने प्रतिबद्धता व्यक्त गरेको छ ।