तस्बिरमा हेर्नुहोस् ‘नदीनाला कसका ?’ फोटो प्रदर्शनी

काठमाडौँ । काठमाडौँस्थित बबरमहलमा ‘नदीनाला कसका ?’ शीर्षकमा फोटो प्रदर्शनी भइरहेको छ ।

फोटो सर्कलले नेपाल आर्ट काउन्सिलमा ‘नदीनाला कसका ?’ नामक फोटो प्रदर्शनी गरेको हो ।

मङ्सिर २८ देखि सुरु भएको यस फोटो प्रदर्शनी पुस ७ गतेसम्म रहने छ । उक्त प्रदर्शनीमा नौ महिना लामो फेलोशिप कार्यक्रममा तयार पारिएको फोटोग्राफी र चलचित्रहरू राखिएका छन् ।

यस प्रदर्शनीले व्यक्ति, समुदाय तथा राष्ट्रराज्यका हैसियतमा हामीले कति र कुन प्रकारले स्वीकारेका छौँ र यस भाष्यलाई आत्मसात गर्नाले हाम्रा नदीनाला, हाम्रा वनजंगल र हाम्रा जमिनको कुन हदसम्म दोहन र क्षय भएको छ भन्नेबारेमा पुनर्विचार गराउँछ ।

फोटो प्रदर्शनीले गोदावरीमा विकासको कथा के हो ?, त्यहाँ मार्बल उत्खनन गर्न सिङ्गो डाँडा नै ओगटिएको थियो । यी डाँडाकाँडा कसका हुन् ?, मुक्कुमलुङमा विकासको कथा के हो ?, त्यहाँ नयाँ केबल कार परियोजना निर्माणका लागि फाँडेर सर्वनाश पारिएको जंगल जोगाउन स्थानीयबासीहरू अझै लडिरहेका छन् । यो वन कसको हो ?, जोगीदहमा विकासको कथा के हो ?, पछिल्लो ३० वर्षदेखि यहाँका राजनीतिक दलका नेताहरूले आफ्ना मतदातालाई नयाँ एअरपोर्ट बनाइदिने वाचा गर्दै आएपनि त्यसका लागि १५६ हेक्टर जंगलका रूखबिरुवा फँडानी गरेर आएको काठपात बेच्नेबाहेक अरु केही गरेका छैनन् । ती रूखबिरुवा कसका हुन् ?,सुनकोसीमा विकासको कथा के हो ?, यस नदीलाई सिँचाई र जलविद्युतका लागि बाँध लगाउने र अन्तै डोर्‍याउने काम मात्रै भएको छ । यो नदी कसको हो ?, आदि प्रश्नको जवाफ उक्त प्रदर्शनीमा देख्न सकिन्छ ।

यस प्रदर्शनीमा अमन शाही, अमित मचामसी, दीपा श्रेष्ठ, किशोर महर्जन, सारा टुनिच कोइच, प्रियंका तुलाचन, समग्र शाह, सुण्डुप दोर्जे लामा, संजय अधिकारी र श्रीना नेपालको प्रतिभा प्रस्तुत गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *