काँग्रेस नेता शेखर कोइराला र सुनिल शर्मा धनगढी प्रस्थान गर्दै
काठमाडौं । नेपाली काँग्रेसका इतर समूहका नेता डा. सुनिल शर्मा लगायतका नेताहरू सुदूरपश्चिम प्रदेश जाने भएका छन् ।
भोलि शुक्रवारदेखि सुदूरपश्चिमका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न डा. शेखर कोइराला र डा.सुनिल शर्मा धनगढी जान लागेका हुन् ।
शर्माका निजी सचिवालयका अनुसार उनले धनगढीमा रहँदा नौ वटै जिल्लाका कार्यकर्ताहरूलाई भेटघाट तथा पार्टीका विविध कार्यक्रमहरूलाई सम्बोधन गर्ने छन् ।
शुक्रवारका कार्यक्रमहरूमा उनले सुदूरपश्चिमका सबै जिल्लाका नेता तथा कार्यकर्ताहरूसँग छुट्टाछुट्टै समयमा भेटघाट गर्ने र जिल्लागत विविध विषयमा छलफल गर्ने योजना रहेको छ ।
पुस ६ गते शर्माले भातृ तथा शुभेच्छुक संस्थाहरूसँग भेटघाट गर्नुका साथै नेपाल प्रजातान्त्रिक सेनानी संघ, सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।
डा. कोइराला र डा. शर्मासँगै नेताहरू हृदयराम थानी, गोविन्द पोखरेल ,गुरुराज घिमिरे संजय गौतम लगायतका नेताहरूले पनि प्रदेश अधिवेशनलाई सम्बोधन गर्नेछन् ।
यस अवसरमा, नेताहरूले सुदूरपश्चिमका स्थानीय तहका प्रतिनिधि, जिल्ला तथा स्थानीय तहका पार्टी सभापति तथा पदाधिकारीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।