जनकपुर बोल्ट्स एनपिएलको फाइनलमा, कर्णाली बाहिरियो
काठमाडौँ । जनकपुर बोल्ट्स सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल)को फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्समाथि २ विकेट जित निकाल्दै जनकपुर बोल्ट्स फाइनलमा प्रवेश गरेको हो ।
अब जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स उपाधिका लागि शनिवार भिड्ने छन् ।
जितका लागि १ सय १९ रनको लक्ष्य पाएको जनकपुर बोल्ट्सले १९ ओभरमा ८ विकेट गुउमाउँदै लक्ष्य पुरा गर्यो ।
जनकपुरको जितमा जेम्स निशामले आक्रामक पारि खेले । उनले १७ बलमा ४५ रन बनाए । हर्ष ठाकरले १७ रनको योगदान दिए ।
मायन यादवले १४ रन बनाउँदा आकाश त्रिपाठीले १३ रनको योगदान दिए । शेर मल्ल १६ रनमा नट आउट रहे ।
अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । शुभ कंसाकार ३, आसिफ शेख ४, लाहिरु मिलन्था ९, मोहम्मद मोहसिनले १ रनको योगदान दिए । किशोर महतो शून्य रनमा नट आउट रहे ।
बलिङमा भने कर्णालीका बिपिन शर्माले सर्वाधिक ३ विकेट लिए । सोमपाल कामी, विलियम बोसिस्टो र जिशान मकसूदले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित ओभरमा अल आउट हुँदै १ सय १८ रन जोड्यो ।
कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे । देव खनालले २४ रनको योगदान दिए ।
जिशान मकसूद र युनिश सिंहले समान १२–१२ रन जोडे । विलियम बोसिस्टो १४ रन बनाएर आउट भए ।
चाडविक वाल्टनले ११ रन थप्दा कप्तान सोमपाल कामीले ५ रन थपे । अर्जुन घर्तीले २ रन बनाए भने जयकिशन कोलसावालाले १ रन थपे । नन्दन यादवले ४ रनमा नट आउट रहे ।
बलिङमा भने जनकपुरका ललित राजवंशी, जेम्स निशाम र मोहम्मद मोहसिनले समान २–२ विकेट लिए । हर्ष ठाकर र शेर मल्लले समान १–१ विकेट लिए ।