अहिले पनि १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था छ : गणेश कार्की (भिडिओ)
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपालका अध्यक्ष गणेश कार्कीले भारतबाट विद्युत आयात नगरे अहिले पनि १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा इप्पानले २५ औं वर्षमा वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती मनाउने सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।
उनले नेपाल जलविद्युतको धनी देश,विद्युत उत्पादनको प्रचुर सम्भावना भएपनि अहिलेदेखि लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बताए ।
उनले भारतले विद्युत दिन छोड्ने हो भने नेपालले १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बारम्बार भन्दै आएको बताए ।
उनले १२ महिना मुलुकलाई लोडसेडिङ मुक्त गर्न नेपालमा भएको स्रोतलाई लगानीमार्फत विद्युत उत्पादनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए ।
उनले विद्युत निर्यातको लागि भारत र बंलादेशसँग सम्झौता भएपनि विद्युत उत्पादनको लागि कुनैपनि काम अघि बढ्न नसकेको उल्लेख गरे ।
उनले विद्युत उत्पादनको लागि रोकिएको पीपीए तत्काल खुला गर्न आवश्यक रहेको बताए । उनले २०३५ सम्म २८ हजार ५ सय मेगावट विद्युत उत्पादनको लागि ६७ खर्ब र ट्रान्समिसन लाइनमा १० खर्ब लगानी आवश्यक रहेको बताए ।
उनले स्वदेशमा भएको पुँजी लगानी गर्नुपर्ने भएपनि सार्वजनिक लेखा समितिले आइपीओमा गएका कम्पनीले ३३ प्रतिशत शेयर बेच्न पाइदैन भनेर लगाम लगाउनु जायज नभएको बताए ।
उनले सरकार विद्युत उत्पादनमा लगानी आवश्यक छ भन्ने तर सरकारका निकायहरु रोक्ने काम बन्द गर्न आवश्यक रहेको बताए ।
उनले नेपालीहरुले उत्पादन गरेका विद्युतले लोडसेडिङ मुक्त गराउने हो भने अब फास्ट ट्याकमा हिँड्नुपर्ने बेला आएको उल्लेख गरे ।