मण्डलामा द्वन्द्वले पारेको प्रभावलाई देखाउने नाटक ‘हरि हजुरबा’ (तस्बिरहरू)
काठमाडौं । थापागाउँस्थित मण्डला नाटक घरमा नाटक ‘हरि हजुरबा’ मञ्चन भइरहेको छ । बिहीबारबाट सुरु भएको नाटक पुस २८ गते (आइतबार) सम्म सोमबारबाहेक प्रत्येक दिन नाटक मञ्चन हुनेछ ।
शनिबार भने दिउँसो १ बजे र साँझ ५ः१५ बजे दुईवटा शो हुनेछन् । यो नाटक अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा मञ्चन भएको हो । उनी करिब १० वर्षपछि नाटकमा फर्किएका हुन् ।
द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्ने नाटकमा नाजिर स्वयंसहित अभिनेता विजय बराल देखिएका छन् । साथमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहेको छ । अभिनेता बराल नाटक ‘मितज्यू’ पछि मञ्चमा देखिएका हुन् ।
चिठी पुर्याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा प्रस्तुत गरिएको छ । नाटकको कथा र लेखन कविताबाट उत्प्रेरित छ, जसलाई कथाको रूप दिनुका साथै नाटकको संरचनामा प्रस्तुत गरिएको छ । यस नाटकलाई द्वन्द्वले दिएको घाउमा मलम लगाउने प्रयासका रूपमा सिर्जना गरिएको देखिन्छ ।
नाटकका सन्देश र प्रस्तुतिले दर्शकलाई गहिरो अनुभूति दिने ‘हरि हजुरबा’ टिमले जनाएको छ । यो नाटकको निर्मातामा अभिनेता दयाहाङ राई र बुद्धि तामाङ रहेका छन् ।