खबर दिनभर : यी हुन् आजका मुख्य समाचार
हिरासतमा रहेका लामिछानेको तस्बीर ‘पब्लिस’ गर्नेलाई कारबाही गरिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६२ दिन देखी प्रहरीको हिरासतमा छन् । गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पूर्व गृहमन्त्री समेत रहेका लामिछाने पक्राउ परेका थिए ।
उनीमाथि प्रहरीले सहकारी ठगी संगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरेको थियो । उनलाई बयानका लागि चितवन,रुपन्देही,काठमाडौं र कास्की पुर्याइएको थियो ।
पछिल्लो पटक अनुसन्धान सकेर जिल्ला प्रहरी कार्याल कास्कीले जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।यसैबीच कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको सुतिरहेको तस्बीर सार्वजनिक भएको छ । उक्त तस्बीर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै समर्थक डा।निकोलश भुषाले सार्वजनिक गरेका हुन् ।भुषाल स्वयंले रास्वपा सभापति लामिछाने सुतिरहरेको तस्बीर आफुले खिचेको स्वीकार गरिसकेका छन् ।
उनले भने,‘यो फोटो रियल हो, मैले नै खिचेको हो,’ उनले भने, ‘गल्ती भको हो माफ चाहन्छु । म बाट कसैलाई दोष लगाउने या खराब नियत थिएन । भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गएको थिए ।’
भुषालकै भनाइअनुसार उनी शनिवार रवि लामिछानेलाई भेट्न कास्की हिरासत पुगेका थिए । प्रहरीकै अगाडि उक्त तस्बीर खिचेको भुषालले बताएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सह कोषाध्यक्ष दीपक बोहराले पार्टी सभापति लामिछानेको तस्बीर सार्वजनिक भएपछि आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अन्याय गर्नुको पनि हद हुन्छ । रविदाइ हिरासत कक्षमा सुतेको सिसिटिभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला ।’
उनले सामाजिक सञ्जालमा कतै पाएर आफुले उक्त फोटो फेसबुकमा पोष्ट गरेको समेत बताएका छन् । तर,हिरासत जस्तो संवेदनशील ठाउँको तस्बीर भुषालले कसरी खिच्न सके रु भन्ने प्रश्न सिर्जना भएको छ ।
अनुमति विना कसैले पनि कुनै पनि व्यक्तिको फोटो खिच्न नपाउने भएतापनि भुषालले संवेदनशील ठाउँभित्रको फोटो खिच्न भ्याएपछि प्रहरीमाथि प्रश्न उठेको छ । लामिछानेको तस्बीर बाहिरिएपछि प्रहरीले सुरक्षामा गम्भीर लापरबाही गरेको देखिएको जानकारहरु बताउँछन् ।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भोला बहादुर रावलका अनुसार तस्बीर सार्वजनिक भएको विषयमा अनुसन्धान भइरहेको छ ।‘यो अनुसन्धानको विषय हो,हामीले समिति गठन गरेर अनुसन्धान कार्यलाई अघि बढाएका छौँ । जिल्ला प्रहरी कार्यालयलाई लेखि पठाइसकेका छौँ,कतै न कतै प्रहरीको कमजोरी देखिएको छ,’रावलले मकालुखबरसंग भने ।
अनुसन्धानमा प्रहरी,तस्बीर सार्वजनिक गर्नेलाई कारबाही गरिने
कास्की प्रहरीको हिरासत कक्षमा सुतिरहेको अवस्था जस्तो अस्पष्ट देखिने तस्बीर सामाजिक सञ्जालमा भाइरल बनेपछि कास्की प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तस्बीर सार्वजनिक गर्नेलाई कारबाही गरिने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति लामिछानेको तस्बीर सार्वजनिक गर्ने डा।निकोलस भुषाललाई कारबाही गर्ने भएको छ ।
साइबर अपराध सम्बन्धी कानूनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याइने जारी विज्ञप्तिमा उल्लेख छ ।
‘कास्की प्रहरीको हिरासत कक्षमा सुतिरहेको अवस्था जस्तो अस्पष्ट देखिने तस्बीर केही दिन अगाडि सामाजिक सञ्जालमा हल चालु रहेको सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको तथ्यपूर्ण अनुसन्धानलाई समेत नकारात्मक प्रभाव पार्ने गरी डा।निकोलस भुषालको फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यवसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेष्ण भएको अनधिकृत तस्बीरप्रति यस जिल्ला प्रहरी कार्यालय कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ,’जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्माद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ,‘गोपनीयता कायम गर्नुपर्ने तस्बिर प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने छ,नेपालको संविधान एवं प्रचलित ऐन कानुन बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिबद्ध रहेको ब्यहोरा अनुरोध गर्दछौँ ।’
संघीयतापछि सरकारी निकायहरुबीच समन्वयको अभाव देखियोः मुख्यसचिव अर्याल
सरकारका मुख्यसचिव एकनारायण अर्यालले संघीयता आइसकेपछि सरकारी निकायहरुबीच समन्वयको अभाव देखिएको बताउनुभएको छ । बिहीवार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा सहकार्य, समन्वय र सहअस्तित्व भनेपनि धेरै कुराहरु अलमलमा रहेको उल्लेख गर्नुभयो ।
उहाँले पालिकाहरुले बनाएका कानूनहरुमा पनि विवादित विषयहरु रहेको बताउनु भयो । उहाँले संघीय कानून भन्दा विपरित कानून बनाउन नपाइने भएपनि त्योअनुसारको कानून नबनेको बताउनु भयो । उहाँले सरकारले युवाहरुलाई सरकारका विभिन्न क्रियाकलापमा समेट्ने भनेर कार्यविधि ल्याइसकेको बताउनु भयो । उहाँले आर्थिक सुधारका लागि आयोग नै गठन गरेर अघि बढेको बताउनु भयो । सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमा आयोगले दिएको सुझावहरुलाई समेटेर कार्यक्रम बनाउने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संघीयता आइसकेपछि गभर्नेन्स सिस्टममा कोर्डिनेशनको ज्यादै अभाव देखिएको छ । भनेको छ, संविधानमा सहकार्य, समन्वय र सहअस्तित्व । तर धेरै कन्फ्युजनहरु क्रिएट भएको छ । पालिकाहरुले कानून त बनाउनुभएको छ । तर तिनै पालिकाहरुको कानूनहरुको बीचमा पनि विवाद छ । संघीय कानून भन्दा विपरित कानून बनाउन पाइँदैन भन्ने छ । तर त्यो खालको अवस्था सिर्जना भएको छैन । त्यसैले उहाँहरुले निर्माण गरेका कानूनहरु कहिले कहीँ नहुने ठाउँमा अलि बढी एक्टिभ भएको देखिन्छ । हामीले एक आपसमा विश्वास नै आर्जन गर्न सकेनौँ । युवाहरुलाई सरकारका विभिन्न क्रियाकलापमा समेट्ने भनेर कार्यविधि ल्याइसकेका छौँ । आर्थिक सुधारका लागि हामीले आयोग नै गठन गरिसकेका छौँ । केके छन् ल्याकिङहरु ? तीन तहको सरकारबीचको समस्या धेरै आइरहेका छन् । साझा र एकल अधिकारले क्रिएट गरेका अधिकारलाई क्लियरीफिकेशन गर्नका लागि त्यो आयोगले हामीलाई सुझाव दिन्छ र नेपाल सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमा त्यही बमोजिम अघि बढ्छ ।’
मुख्यसचिव अर्यालले सरकारले सबै सेवाहरु प्रविधिमैत्री बनाउने भनेर काम अघि बढाइरहेको बताउनु भयो ।
अण्डाको मूल्यमा वृद्धि,प्रतिक्रेट ५ सय पुग्यो
कुखुराको अण्डाको मूल्यमा वृद्धि भएको छ । भोलि शुक्रवारदेखी लागु हुनेगरी अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाइएको नेपाल लेयर्स कुखुरापालक संघले जानकारी दिएको छ ।
संघका अनुसार मिडियम साइज अण्डा प्रतिक्रेट ४७० रुपैयाँबाट ४८५ र ठूलो अण्डा प्रतिक्रेट ४८५ रुपैयाँबाट ५ सय रुपैयाँ प्रतिक्रेट पुगेको छ ।चितवनलाई आधार मानेर बिक्री मूल्य तय भएको संघले जनाएको छ ।
संघीयता कार्यान्वयनसँग जोडिएका कानूनहरुको निर्माणमा सक्रियतापूर्वक लागेको छु : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संघीयता कार्यान्वयनसँग जोडिएका कानूनहरुको निर्माण गर्न सक्रियतापूर्वक लागिरहेको बताउनुभएको छ ।
बिहीवार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृति, अल्पसंख्यक समुदाय आदिलाई समेत सम्बोधन हुनेगरी विकास तथा सेवाको ढाँचा निर्माणदेखि कार्यान्वयनमा ध्यान दिँदै जानु नै संघीयताको सफल कार्यान्वयनको सूचक भएको उल्लेख गर्नुभयो ।
उहाँले तीन तहकै सरकारहरुबीचको अधिकार बाँडफाँड र तिनीहरुको कार्यान्वयनमा धेरै मतभेद नरहेको बताउनु भयो । उहाँले संघीयता कार्यान्वयनको शुरुवाती अवस्थादेखि रहेका केही कमी, कमजोरीहरु अहिले कार्यान्वयनको क्रममा समाधान हुँदै गएको बताउनु भयो । उहाँले संघीय शासन प्रणाली भनेकै निरन्तर अभ्यासको क्रममा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने पद्धति भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सबै क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृति, अल्पसंख्यक समुदाय आदिलाई समेत सम्बोधन हुनेगरी विकास तथा सेवाको ढाँचा निर्माणदेखि कार्यान्वयनमा ध्यान दिँदै जानु नै संघीयताको सफल कार्यान्वयनको सूचक पनि हो । तीन तहकै सरकारहरुबीचको अधिकार बाँडफाँड र तिनीहरुको कार्यान्वयनमा थुप्रै मतभेद र विवाद छन् जस्तो मलाई लाग्दैन । संघीयता कार्यान्वयनको शुरुवाती अवस्थादेखि नै केही कमी, कमजोरीहरु पनि अवश्य अभ्यासका क्रममा समाधान हुँदै गएका छन् । सम्बोधन हुँदै जाने नै छन् । सभामुखका रुपमा संघीयता कार्यान्वयनसँग जोडिएका कानूनहरुको निर्माण गर्न मेरो प्रयत्न पनि निरन्तर रही रहेको छ । संघीय शासन प्रणाली भनेकै निरन्तर अभ्यासको क्रममा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने पद्धति हो भन्ने मेरो बुझाइ छ ।’
सभामुख घिमिरेले विद्यालय शिक्षा, निजामति ऐन, प्रहरी समायोजन जस्ता मुख्य कार्यहरु कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्नुभयो । कानून कार्यान्वयनको लागि तीन तहकै सरकारबीच समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच उपाधि भिडन्त
जनकपुर बोल्ट्सले बिहीवार कर्णाली याक्सलाई दुई विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्त तय गरेको छ । जिमी निसमको अलराउन्ड प्रदर्शनमा जनकपुरले दोस्रो क्वालिफायरमा कर्णालीलाई हराउँदै सुदूरपश्चिम रोयल्ससँग उपाधि भिडन्त पक्का गरेको हो । बुधवार नै सुदूरपश्चिमले जनकपुरलाई नै पहिलो क्वालिफायरमा हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।
त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको ११९ रनको सामान्य लक्ष्य जनकपुरले १८.५ ओभरमा सात विकेटको क्षतिमा भेट्टायो । निसमले सर्वाधिक ४५ रन जोड्दै जितनजिक पुर्याएका हुन् । उनले १७ बलमा पाँच छक्का र दुई चौका प्रहार गरे । अलराउण्ड प्रदर्शन गरेका निसम म्यान अफ दी म्याच भए ।
निसमले आक्रामक ब्याटिङ गर्दै जनकपुर जितनजिक पुर्याएका थिए । उनी ब्याटिङ गरिहँदा जनकपुरलाई २८ बलमा २५ रन आवश्यक थियो । तर १५.३ ओभरमा कर्णाली युवा स्पिनर विपिन शर्माले निसमलाई बोल्ड गर्दै ठूलो झड्का दिए । उनी आउट भएसँगै जनकपुर दबाबमा पर्यो । थप दुई रन जोड्दा विपिनले अर्को विकेट पनि लिए । उनले मोहम्मद मोहसिनलाई १ रनमै एलबिडब्लु आउट गरे । जनकपुर १५.६ ओभरमा ९६/७ को अवस्थामा पुग्यो । यद्यपि, शेर मल्ल र मायन यादवले आठौं विकेटका लागि १९ रनको साझेदारी गर्दै जितनजिक पुर्याए ।
तर मायन १४ रनमा रनआउट हुन पुगे । उनी आउट हुँदा जनकपुरलाई जितका लागि ८ बलमा ४ रन आवश्यक थियो । तर शेर मल्ल एक छक्कासहित १६ रनमा अविजित रहँदै जित दिलाउन सफल भए ।
त्यसअघि सामान्य लक्ष्य पछ्याए पनि जनकपुरका शिर्ष क्रम सस्तैमा आउट हुँदा दबाबमा परेको हो । ओपनरद्वय शुभ कंसकार ३ र आसिफ शेख ४ रन तथा लाहिरु मिलन्था २ रनमा नै आउट भए । त्यसपछि आकाश त्रिपाठी पनि १३ रनमा पेभेलियन फर्किए । इनिङ समाल्ने प्रयास गरेका हर्ष ठाकर पनि १७ रनमा रनआउट हुन पुगे ।
यससँगै ९.४ ओभरमा जनकपुर ५८/५ को अवस्थामा पुग्यो । तर निसामले छैटौं विकेटका लागि मोहसिनसँग ३६ रनको साझेदारी गर्दै जितनजिक पुर्याए । यी दुई आउट भएसँगै जनकपुर दबाबमा पनि परे पनि कर्णालीले सफलता पाउन सकेन । कर्णालीको बलिङमा विपिन शर्माले चार ओभरमा तीन विकेट लिँदै १७ रन मात्र दिए ।
सोमपाल कामी, विलियम बोसिस्टो, जिसान मक्सुदले समान एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीको सुरुआत राम्रो हुन सकेन । तर, कर्णाली समालिने प्रयास गरे पनि सफल भएन । पूरै ओभरमा ९ विकेट गुमाउँदै कर्णालीले ११८ रनको सामान्य योगफल बनायो ।
मध्य क्रमका गुलसन झाले २५ रन बनाए । यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । २० बलमा गुलसनले एक चौका र दुई छक्का प्रहार गरे । ओपनर देव खनालले २४ रनको योगदान दिए । उनको इनिङमा तीन चौका र एक छक्का रह्यो । त्यसबाहेक अन्य ब्याटर क्रिजमा टिक्नै सकेनन् । जिसान मक्सुद १२, विलियम बोसिस्टो १४, चाडविक वाल्टन ११ र पुछारका युनिषविक्रम ठकुरी १२ रनमा आउट भए । त्यसअघि कर्णालीको शुरुवात राम्रो हुन सकेन । दोस्रो ओभरमै ओपनर जयकिशन कोल्सावाला १ रनमै आउट भए ।
डेब्युमा नै अर्धशतक बनाएका कोल्सावाला स्पिनर ललित राजवंशीद्वारा क्याच आउट भए । तर दोस्रो विकेटका लागि ओपनर देव र जिसानबीच ३७ रनको साझेदारी भयो । यो नै सर्वाधिक ठूलो साझेदारी रह्यो । ११.५ ओभरमा कर्णाली ७७/४ को अवस्थामा थियो । खातामा थप ४१ रन जोड्दा कर्णालीले पाँच विकेट गुमाउन पुग्यो र सामान्य योगफलमा खुम्चियो ।
जनकपुरका बलरले विकेटसँगै किफायती बलिङ गर्दै कर्णालीलाई सामान्य योगफलमा रोकेका हुन् । ललित, मोहम्मद मोहसिन र निसमले समान दुई विकेट लिए । चार ओभरमा मोहसिनले एक मेडन राख्दै १४ रन मात्र दिए । समान ओभरमा ललितले पनि २२ रन मात्र खर्चिए । हर्ष ठाकरले पनि चार ओभरमा एक विकेट लिँदा १४ रन मात्र दिए । एक ओभरमा शेर मल्लले पनि एक विकेट लिँदा ४ रन मात्र दिए ।
दलित समुदायको अधिकार तथा विकास सम्बन्धी विधेयक संसदमा पेश गर्न सरकारलाई निर्देशन
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार तथा विकास सम्बन्धी विधेयक संसदमा पेश गर्नको लागि आवश्यक गृहकार्य जुट्न निर्देशन दिएको छ ।
बिहीवार सिंहदरबारमा बसेको समिति बैठकले संसदको हिउँदे अधिवेशनभित्र संसदमा विधेयक पेश गर्नेगरी गृहकार्यमा जुट्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति कमला पन्तले सरकारलाई निर्देशन दिँदै विधेयक निर्माणका लागि समितिले आवश्यक सहयोग गर्ने बताउनु भयो ।
उहाँले समिति दलित समुदायको अधिकारसम्बन्धी विधेयक निर्माणका लागि आवश्यक गृहकार्य गरिरहेको र उक्त गृहकार्यलाई प्रतिवेदनको रुपमा बुझाउने बताउनु भयो । उहाँले ऐन निर्माण गर्ने निकाय संसदीय समिति नभएको समेत स्पष्ट पार्नुभयो । दलित समुदायहरुमाथि राजनीति भइरहेको भन्दै उहाँले राजनीतिले आँखा नचिम्लिने गरी ऐन बनाउन जरुरी रहेको बताउनु भयो ।
सभापति पन्तले भन्नुभयो, ‘समितिमा पेस भएको संसदको प्रश्ताव कार्यान्वयन उपसमितिको प्रतिवेदन सुझावसहित राष्ट्रिय सभामा छलफलका लागि पेश गर्ने । नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दलितका अधिकार तथा विकासका सम्बन्धी विधेयक संसदमा पेश गर्नको लागि आवश्यक गृहकार्य अघि बढाउनेबारे निर्देशन दिन्छौं । तर यो कहिले गर्ने ? कति दिनमा गर्ने भन्नेकुरा चाहीँ संसदको आउँदो अधिवेशनमा नै विधेयक पेश गर्ने गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने ।
मन्त्रालयले आवश्यक गृहकार्य गरोस् । हामी यसमा सहयोग गर्नको लागि तयार छौं । हामीले गृहकार्य गरेका पनि छौं । ऐन बनाउने निकाय समिति नभएको कारणले हामीले गरेको गृहकार्य प्रतिवेदन बुझाउने छौं । तर यो विषय दुनियामा सुनाउन लज्जास्पद भएको छ । दलित परिवारमाथि राजनीति गरेका छौं । दुईचार र भोट यिनीहरुकै हातमा हुन्छ । राजनीतिले आँखा नचिम्लिने गरी ऐन हामीले बनाउनु पर्यो ।’
बैठकमा दलित समुदायको अधिाकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धमा संकल्प प्रश्ताव कार्यान्वयनको अनुगमन उपसमितिबाट प्राप्त प्रतिवेदन उपर छलफल भएको छ ।
भारतबाट विद्युत आयात नगरे अहिले पनि १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था छ : अध्यक्ष कार्की
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपालका अध्यक्ष गणेश कार्कीले भारतबाट विद्युत आयात नगरे अहिले पनि १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा इप्पानले २५ औं वर्षमा वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती मनाउने सन्दर्भमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताउनुभएको हो ।
उहाँले नेपाल जलविद्युतको धनी देश,विद्युत उत्पादनको प्रचुर सम्भावना भएपनि अहिलेदेखि लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले भारतले विद्युत दिन छोड्ने हो भने नेपालले १० घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था रहेको बारम्बार भन्दै आएको बताउनु भयो ।
उहाँले १२ महिना मुलुकलाई लोडसेडिङ मुक्त गर्न नेपालमा भएको स्रोतलाई लगानीमार्फत विद्युत उत्पादनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले विद्युत निर्यातको लागि भारत र बंलादेशसँग सम्झौता भएपनि विद्युत उत्पादनको लागि कुनैपनि काम अघि बढ्न नसकेको उल्लेख गर्नुभयो ।
उहाँले विद्युत उत्पादनको लागि रोकिएको पीपीए तत्काल खुला गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले २०३५ सम्म २८ हजार ५ सय मेगावट विद्युत उत्पादनको लागि ६७ खर्ब र ट्रान्समिसन लाइनमा १० खर्ब लगानी आवश्यक रहेको बताउनु भयो । उहाँले स्वदेशमा भएको पुँजी लगानी गर्नुपर्ने भएपनि सार्वजनिक लेखा समितिले आइपीओमा गएका कम्पनीले ३३ प्रतिशत शेयर बेच्न पाइदैन भनेर लगाम लगाउनु जायज नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ नेपाल जलविद्युतको धनी देश,विद्युत उत्पादनको प्रचुर सम्भावना भएको देश तर हामीले अहिलेदेखि लोडसेडिङ भोग्ने हो कि भन्न थालेका छौं । भारतले विद्युत दिन छाडेको हो भनेका छौं । मैले धेरै पटक भनी सके । भारतले विद्युत नदिने हो भने नेपालले १० घण्टा लोडसेडिङ भोग्नुपर्छ । १२ महिना मुलुकलाई लोडसेडिङ मुक्त गर्न के गर्नुपर्छ भनेर खोज्नुपर्ने दिन आएको छ । विद्युत निर्यातको लागि भारत र बंलादेशसँग सम्झौता भएको छ तर अगाडि बढ्न सकेको छैन । विद्युत उत्पादनको लागि पीपीए रोकेर बसेको छ । २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लागि ६७ खर्ब र ट्रान्समिसन लाइनमा १० खर्ब लगानी आवश्यक छ । स्वदेशमा भएको पुँजी लगानी गर्नुपर्ने हुन्छ । सार्वजनिक लेखा समितिले आइपीओमा गएका कम्पनीले ३३ प्रतिशत शेयर बेच्न पाइँदैन भनेर लगाम लगाउँदै छ । सरकार विद्युत उत्पादनमा लगानी आवश्यक भन्छ तर सरकारका निकायहरु रोक्ने काम गरेका छन् । नेपालीहरुले उत्पादन गरेका विद्युतले लोडसेडिङ मुक्त गराउने हो भने अब फास्ट ट्राकमा हिँड्नुपर्ने बेला आएको छ ।’
उहाँले सरकार विद्युत उत्पादनमा लगानी आवश्यक छ भन्ने तर सरकारका निकायहरु रोक्ने काम बन्द गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालीहरुले उत्पादन गरेका विद्युतले लोडसेडिङ मुक्त गराउने हो भने अब फास्ट ट्याकमा हिँड्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो ।
युवाहरुलाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्छ : मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालमा अनुसन्धानको इकोसिस्टमलाई सुदृढ पार्नुपर्ने महत्वपूर्ण चुनौति रहेको बताउनुभएको छ । बिहीवार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री भट्टराईले अत्याधुनिक प्रयोगशालाहरुमा लगानीलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।
उहाँले अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउनुपर्ने बताउनु भयो । उहाँले नेपाली वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले दिगो विकासको आधार, दिगो विकासको अपार सम्भावना बोकेका स्वदेशी प्रविधिको आधुनिकीकरण पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो । नवप्रवद्र्धनको संस्कृतिलाई बढवा दिन युवाहरुलाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्ने बताउनु भयो । विज्ञान शिक्षा विद्यालयस्तरबाटै शुरु गरिरहेको भन्दै हातमा सिकाई, आलोचनात्मक सोच, उद्यमशिलता र नवप्रवर्तन आज हामीले केन्द्रित हुनुपर्ने विषय बनेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा अनुसन्धानको इकोसिस्टमलाई सुदृढ पार्नुपर्ने एउटा महत्वपूर्ण चुनौति हाम्रोसामु छ । हामीले अत्याधुनिक प्रयोगशालाहरुमा लगानीलाई प्राथमिकता दिनुपर्नेछ । अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउनुपर्नेछ । हाम्रा वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनुपर्नेछ । दिगो विकासको आधार, दिगो विकासको अपार सम्भावना बोकेका स्वदेशी प्रविधिको आधुनिकीकरण पनि उत्तिकै महत्वपूर्ण छ । हामीसँग रहेको इन्जिनियर्स नलेजलाई हामीले विज्ञानसँग कसरी जोड्ने भन्ने आवश्यकता छ । नवप्रवद्र्धनको संस्कृतिलाई बढवा दिन हामीले हाम्रा युवाहरुलाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्नेछ । विज्ञान शिक्षा विद्यालयस्तरबाटै शुरु गरिरहेका छौँ । हातमा सिकाई, आलोचनात्मक सोच, उद्यमशिलता र नवप्रवर्तन आज हामीले केन्द्रित हुनुपर्ने विषय बनेको छन् ।’
मन्त्री भट्टराईले देशको भविष्य आजका युवाहरुको आविष्कारमा निर्भर रहेको बताउनु भयो ।
२०२५ मा नाइजेरियाको अर्थतन्त्र अनुकुल हुन्छ : राष्ट्रपति
नाइजेरियाको अर्थतन्त्र २०२५ मा नागरिकहरूका लागि अझ अनुकुल बन्ने राष्ट्रपति बोला टिनुबुले बताउनुभएको छ । पुनःस्थापित समष्टि आर्थिक स्थिरता, सुधारिएको व्यापार वातावरण, रोजगारीका अवसरहरू र गरिबी न्युनिकरणका प्रक्षेपण गर्दा अर्थतन्त्र अझ अनुकुल हुने उहाँले बताउनु भयो ।
राजधानी अबुजामा द्विसदस्य व्यवस्थापिकाको संयुक्त सत्रमा २०२५ को राष्ट्रिय बजेट प्रश्तुत गर्दै टिनुबुले अफ्रिकाको सबैभन्दा जनसंख्या भएको देशको अर्थतन्त्र बिस्तारै रिबाउन्ड हुँदै गरेको बताउनु भयो ।
आफूहरुले स्थापना गरेको सुधारहरूले परिणाम दिन थालेका बताउनु भयो । नाइजेरियालीहरूले चाँडै राम्रो र अधिक कार्यात्मक अर्थतन्त्रको अनुभव गर्ने उहाँको दाबी छ ।
बहिर्गमन वर्ष २०२४ को लागि विश्वव्यापी आर्थिक वृद्धि ३.२ प्रतिशत हुने प्रक्षेपण गरिएको उल्लेख गर्दै टिनुबुले नाइजेरियाको अर्थतन्त्रले २.५४ प्रतिशतको तुलनामा तेस्रो त्रैमासिकमा ३.४६ प्रतिशतको वृद्धि दर हासिल गरेको बताउनु भयो । टिनुबुकाअनुसार नाइजेरियाको विदेशी सञ्चिति अहिले करिव ४२ बिलियन डलरमा छ ।