यु-१९ एसिया कप : आज बंगलादेशलाई हराए नेपालले फाइनल खेल्ने
काठमाडौँ । मलेसियामा जारी महिला यु-१९ एसिया कपको सुपर-४ मा आज नेपालले बंगलादेशसँग सामना गर्दैछ । खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुँदैछ ।
यसअघि सुपर-४ को पहिलो खेल बिहीबार वर्षाका कारणले रद्द भएपछि नेपाल र श्रीलंकाले समान एक/एक अंक बाँडेका थिए । आजको खेल नेपालको लागि महत्त्वपूर्ण छ । आजको खेलमा नेपालले बंगलादेशलाई पराजित गरेमा फाइनलको यात्रा तय गर्नेछ ।
नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर-४ मा प्रवेश गरेको थियो । समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक/एक अंक बाँडेका थिए । तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।
गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित छ टोली सम्मिलित छन् । यसमा समूह ‘ए’ मा बंगलादेश, मलेसिया र श्रीलंका छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् । पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन् । फाइनल खेल आगामी आइतबार हुनेछ ।