शेखर कोइराला समूहका नेताहरू धनगढीमा

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइराला लगायतका नेताहरू सुदूरपश्चिम प्रदेश गएका छन् ।

काँग्रेसको संस्थापन इतर समूहका नेताहरू शुक्रवार कैलालीको धनगढी प्रस्थान गरेका हुन् ।

बुद्ध एयरको जहाजबाट कोइरालासँगै सांसदहरू हृदयराम थानी, सुनिल शर्मालगायत इतर समूहका नेताहरू सुदूरपश्चिम गएका हुन् ।

१५ औँ महाधिवेशनको तयारी स्वरूप उनीहरू सुदूरपश्चिम प्रदेश गएका हुन् । काँग्रेस नेता कोइरालाले १५ औँ महाधिवेशनमा सभापति पदमा चुनाव लड्ने बताइसकेका छन् ।

महाधिवेशन अघि सबै नेताहरूलाई भेटघाट र छलफलका लागि कोइरालाले सुदूरपश्चिममा रहेका सबै जिल्लाका सभापतिहरूसँग कुराकानी गर्ने तयारी गरेका छन् ।

कोइरालाले कञ्चनपुर, कैलाली, डोटी, बैतडी, बझाङ, डडेलधुरा, अछाम, दार्चुला र बाजुराका काँग्रेस सभापतिसँग एक्ला एक्लै भेट्ने कार्यक्रम तय भएको छ ।

कोइरालाले शुक्रवार दिउँसो १ बजेदेखि साँझ ५ः३० बजेभित्र जिल्ला सभापतिहरूसँग भेटघाट गरिसक्नेछन् ।

कोइरालाले शनिवार भ्रातृ संस्थाहरूसँग सामूहिक रूपमा भेटघाट गर्नेछन् । भेटघाटका लागि शनिवार बिहान ८ बजेको समय दिइएको छ । साथै शुभेच्छुक संस्थाहरूसँग पनि शनिवार बिहान नै भेटघाटको कार्यक्रम छ ।

कोइरालाले २०८२ मंसिरभित्रै १५ औँ महाधिवेशन गरिनुपर्ने बताइरहेका छन् । काँग्रेस विधानअनुसार हरेक चार वर्षमा महाधिवेशन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *