भरतपुरका पाँच वटा वडा बालमैत्री घोषणा

चितवन । भरतपुर महानगरपालिका पाँच वडालाई वालमैत्री वडा घोषणा गरिएको छ । महानगर प्रमुख रेनु दाहालले आज वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरेसँगै यो सङ्ख्या पाँच पुगेको हो ।

भरतपुर महानगरपालिकाका वडा नम्बर १४, २१, २३ र १३ लाई यस अघिनै बालमैत्री वडा घोषणा गरिएको थियो । वि.सं. २०७६ असार २५ गते भरतपुर महानगरपालिका वडा नम्बर १४ लाई पहिलोपटक बालमैत्री वडा घोषणा गरिएको थियो । आर्थिक वर्ष २०८३/८४ सम्ममा महानगरपालिकालाई बालमैत्री घोषणा गर्ने उद्देश्यका साथ बालमैत्री वडा घोषणा गरिएको हो ।

नगरप्रमुख दाहालले महानगरपालिकामा बालमैत्री शासन लागू गर्न र बालश्रम मुक्त वनाउने योजनाका साथ काम भइरहेको बताइन् । सामुहिक एकता र बलले मात्र कामहरु सफल हुने उल्लेख गर्दै उनले घोषणा भइसकपछि यसको कार्यान्वयनमा वडा र टोलबासीको सहयोग अपरिहार्य रहेको बताइन् । बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि महानगरपालिकाले सक्दो प्रयास गरेको उनको भनाइ थियो ।

बालमैत्री वडा घोषणापछि देखिने चुनौति समाधान गर्न अभिभावकहरुको महत्वपूर्ण भूमिका रहने महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले बताए । बाल अधिकार संरक्षणका लागि स्थानीय बाल अधिकार समिति सधै तयार रहेको उनको भनाइ थियो ।

महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक महाशाखा निर्देशक शान्ताकुमारी पौडेलले बालमैत्री वडा घोषणाका लागि बालमैत्री स्थानीय शासनअन्तर्गत ५१ वटा सूचकाङ्क पूरा गर्नुपर्ने जानकारी दिए । स्थानीय बाल अधिकार समितिले यस वर्ष थप दुईवटा वडालई बालमैत्री घोषणा गर्ने तयारी गरिरहेको पनि उनको भनाइ थियो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्मा, वडा नम्बर १४ का अध्यक्ष राजेन्द्र शाखी, वडा नम्बर ६ का अध्यक्ष कृष्णलाल श्रेष्ठ, वडा नम्बर ६ का पूर्वअध्यक्ष हरिविलाश कोइराला,नेपाली कांग्रेसका वडा सभापति प्रकाश अधिकारी लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *