साग किसानको कथा : थोरै लगानी, धेरै आम्दानी (भिडिओ)
काठमाडौँ । आजभोलि प्राय हामी सबैको भान्छामा साग पाक्ने गरेको छ । सागलाई हामी सरल र सर्वसुलभ रुपमा जहाँ पनि पाइने तरकारीको रुपमा लिन्छौँ । यो स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायक मानिन्छ ।
साग थोरै मेहनतले पनि धेरै उत्पादन लिन सकिने तरकारी हो । हाम्रा समाजमा यसको व्यावसायिक खेती गरेर लाखौँ आम्दानी गर्ने किसानहरू पनि छन् । काभ्रे, खानीखोला गाउँपालिका वडा नं ३ का २९ वर्षीय राजकुमार घिसिङ त्यस्तै एक पात्र हुन् ।
गाउँमा घिसिङका बुबा, आमाले खेतीकिसानी र पशुपालन गर्नुहुन्थ्यो । उनी भने बालबच्चालाई पढाउन भनी परिवारसहित काठमाडौँ भित्रिएका थिए । यहाँ आएर उनले ‘ड्राइभिङ’ पेसा गरेको बताए ।
काठमाडौँ बसाइकै क्रममा उनी ‘फाइदा हुन्छ’ भन्ने सुनेर तरकारीखेतीप्रति आकर्षित भएको बताए ।
हाल उनी भक्तपुर, चाँगुनारायण–१, बेसीमा विगत ६ वर्षदेखि तरकारीखेती गर्दै आएका छन् । उनले यहाँ ३-४ रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरिरहेको छन् ।
‘मैले थोरैबाट सुरुवात गरेको हुँ । १ रोपनी जग्गा भाडामा लिएर ५०-६० हजार लगानी गरेको थिए । त्यसबाट मल, बिउ बिजन र औजारहरू खरिद गरेर तरकारी उत्पादन गरे ।’ उनी भन्छन् ।
अहिले उनले आफ्नो बारीमा मेथी, धानिया, रायो, चम्सुर र लहलह परेका पालुङ्गोका सागहरू रोपेका छन् ।
उनले ठेकेदार मार्फत आफूले उत्पादन गरेका तरकारीहरू बिक्री गर्दै आएको बताए । उनले रायो साग प्रति केजी २५-३० रुपैयाँ, धानिया प्रतिकेजी १ सय र चम्सुर, पालुङ्गो प्रतिकेजी ३०-४० रुपैयाँमा बिक्री गर्ने जानकारी दिए ।
उनले यस सिजन (तुसारो पर्ने बेला) मा सागहरू अलि चाँडै टिप्नुपर्ने जानकारी दिए । घिसिङले एक पटकमा २ देखि ३ सय केजीसम्म सागहरू बिक्री गर्दै आएका छन् ।
उनले पहिले आफूले उत्पादन गरेको सागहरू चितवनदेखि भरतपुरसम्म बिक्री गरेको सुनाए । अहिले काठमाडौँ भ्यालीमा मात्र बिक्री हुने बताए ।
‘भाउ नआउँदा त घाटै हुन्छ । भाउ आउने बेलामा चैँ अलि फाइदा बस्छ ।’ उनी भन्छन् ‘खट्नेले त सागखेतीमा राम्रै आम्दानी गर्छन् । मैले चैँ वार्षिक ४/५ लाख आम्दानी गर्ने गरेको छु ।’
कृषि पेसामा कहिले घाटा, कहिले फाइदा हुने घिसिङको अनुभव छ ।
घिसिङले बजार भाउ राम्रो हुँदा ३/४ रोपनीमा गरिएको तरकारीखेतीबाट वर्षमा ४/५ लाख आम्दानी लिन सकिने बताए ।
उनले यसबाट राम्रो आम्दानी लिन छोराछोरीलाई भन्दा बढी स्याहार गर्न आवश्यक रहेको बताए । घिसिङले आफू यस पेसाप्रति सन्तुष्ट रहेको भन्दै केही गुनासोहरू पनि रहेको बताए ।
‘कृषि गर्न त धेरै गाह्रो छ नि, भन्या बेलामा मल पाउदैन् । तरकारीको भाउ आउँदैन । कैले त लगानी पनि उठ्दैन ।’ घिसिङले भने ।
उनले सागखेती गर्दा किरा लाग्ने, दाग बस्ने, डढुवा लाग्ने गाँठो आउने जस्ता धेरै समस्याहरूको सामना गर्नुपर्ने बताए ।
हालसम्म सरकारबाट कुनैपनि अनुदान वा तालिम नपाएको उनको गुनासो छ । उनले यसबारेमा धेरै पटक आफूले सुनेको भएपनि त्यहाँसम्म पुग्न आफ्नो पहुँच नपुगेको उनले गुनासो पोखे ।
उनले कृषि क्षेत्रमा आबद्ध भएका कृषकहरूलाई समयमै मलको उपलब्धता गराइदिन सरकारसँग माग गरे । बेरोजगार व्यक्तिहरूलाई पनि कृषि क्षेत्रमा संलग्न भएर स्वरोजगार बन्न सुझाव दिए ।
त्यस्तै भक्तपुर, चाँगुनारायण बेसी–१ का ४० बर्सिया लक्ष्मी श्रेष्ठ पनि विगत १७ वर्षदेखि सागखेती गर्दै आएकी छन् । उनले पनि १५ रोपनी जग्गामा चम्सुर, पालुङ्गो, रायो साग र गाजर उत्पादन गरेर बिक्री गर्दै आएकी छन् ।
सुरुमा उनले ॠण लिएर तरकारीखेती गर्न थालेको सुनाइन् । उनले अहिले सागसब्जी उत्पादन र बिक्री गरेर नै सोही ठाउँमा ढलान घर बनाएकी छन् ।
उनले ‘मैले जानेको काम नै यही हो’ भन्दै आफ्नो पेसा प्रति एकदमै सन्तुष्ट रहेको बताइन् ।
उनले ठेकेदारलाई बजार मूल्य अनुसार कहिले १०, त कहिले २० रुपियाँ मुठामा रायोसाग बेच्ने गरेकी छन् ।
उनले एक पटकमा ७ देखी ८/९ सय मुठा साग बेच्ने गरेको बताइन् । उनले उत्पादन गरेका सागहरू बल्खु, कालीमाटी र सुकेधारामा बिक्री हुँदै आइरहेको छ ।
उनले सागखेती गर्दा रोग लागेन र बजार भाउ आयो भने थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने बताइन् ।
भनिन् ‘भाउ आएको बेलामा महिनाको २ लाख पनि हुन्छ । दुना गाइजस्तै टिपी राख्न पायो नि त । अहिले त भाउ ठिकै छ । माघ, फागुनमा चैँ बिउको पैसा पनि उठ्दैन ।’
किसान राजकुमार घिसिङले जस्तै उनले पनि सरकारबाट कुनै अनुदान वा सहयोग नपाएको भन्दै गुनासो गरिन् । उनले सरकारलाई मल र बिउको सजिलै उपलब्ध गराइदिन भन्दै माग गरिन् ।
उनले भनिन् ‘अहिलेसम्म सरकारबाट केही पनि अनुदान पाएका छैनौँ । मल र बिउ पनि सजिलै पाइदैन् । यसको समस्या छ ।’