एनपिएल : फाइनलमा भोलि सुदुरपश्चिम र जनकपुर भिड्दै,कसले चुम्ला उपाधि ?

काठमाडौं । गत मंसिर १५ गतेदेखी जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा भोलि (शनिवार) फाइनल खेल हुँदैछ । सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच भोलि फाइनल खेल हुन लागेको हो । बिहीवार कर्णाली याक्सलाई दुई विकेटले हराउँदै जनकपुरले सुदुरपश्चिमसंगको उपाधि भिडन्त तय गरेको थियो ।

सुदुरपश्चिमले पहिलो क्वालिफायरमा जनकपुरलाई पराजित गर्दै फाइनल यात्रा तय गर्दा जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

सुदूरपश्चिमलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ । तर, फाइनलमा दुवै टोलीमाथि दबाब हुने भएकाले यसअघिका प्रदर्शन नदोहोरिन पनि सक्छ ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघिका नतिजा हेरेर नखेल्ने र सजिलो प्रतिद्वन्द्वीका रूपमा नलिने स्पष्ट पारेका छन् । साथै उनले जनकपुर पनि बलियो रहेको र राम्रो योजना बनाएर खेल्ने बताएका छन् ।

दीपेन्द्रले जित या हारभन्दा पनि आफ्नो शतप्रतिशत दिएर खेल्ने बताए । पिचको अवस्था अनुरूपमा ब्याटिङ गर्ने योजना हुने उनको भनाइ छ ।

यस्तै जनकपुरका कप्तान आसिफ शेखले फाइनलमा बदला लिनेभन्दा पनि आफूसँग भएको उत्कृष्ट प्रदर्शन दिने विश्वास व्यक्त गरे । उनले पछिल्ला खेलमा राम्रो ब्याटिङ गर्न नसके पनि फाइनलमा राम्रो खेल्ने आशा व्यक्त गरेका छन् ।

एनपिएल क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले रू एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रू ५१ लाख प्राप्त गर्दा तेस्रो स्थान हासिल गर्ने टोलीले रू २५ लाख प्राप्त गर्ने छ । त्यस्तै चौथो स्थान हासिल गर्ने टोलीले रू १५ लाख पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट घोषित हुने एक खेलाडीलाई एक थान कार प्रदान गर्ने क्यानले यसअघि नै घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *