एनपिएल फाइनलमा सुदूरपश्चिम र जनकपुर भिड्दै, कसले चुम्ला उपाधि ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच उपाधिका लागि भिडन्त हुनेछ ।
फाइनल खेल दिउँसो १२स्१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्स प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई नै आठ विकेटले हराउँदै फाइनलमा पुगेको हो । जनकपुर बोल्ट्स भने दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
लिग चरणमा शीर्ष दुई स्थानमा रहेको दुई टिम नै अन्तत: फाइनलका प्रतिस्पर्धी भएका हुन् । यी दुई टोली लिग र प्लेअफमा गरी दुई पटक भेट हुँदा दुवै पटक सुदूरपश्चिम विजयी भएको थियो । तेस्रो भेटमा पनि सुदूरपश्चिम हावी होला वा जनकपुरले बदला लेला त्यसका लागि भने शनिवारको फाइनल नै कुर्नुपर्नेछ ।
सुदूरले लिग चरणमा खेलेको ७ मध्ये ६ खेल जितेको थियो भने चितवन राइनोजसँग मात्र पराजित भएको थियो । जनकपुरले लिग चरणमा चितवनसहित सुदूरपश्चिमसँग पनि हार व्यहोरेको थियो । जनकपुरले लिग चरणमा ७ मध्ये ५ खेल जितेर दोस्रो स्थानमा रहेको थियो । प्लेअफमा पनि पहिलो खेल हारेको जनकपुरले अर्को खेल जित्यो ।
सुदूरले समूह चरणमा लयलाई कायम राख्दै क्वालिफायर वान जितेर फाइनल पुग्ने पहिलो टोली बन्दा जनकपुरले पाएको अर्को अवसर सदुपयोग गर्यो । कर्णाली याक्स एलिमिनेटरमा चितवन राइनोजलाई पराजित गरेर क्वालिफायर टु मा पुगेको थियो । जनकपुरले पाएको अवसरमा कर्णालीलाई लो स्कोरिङ खेलमा पराजित गरेको हो ।
कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभर खेल्दै ८ विकेट गुमाएर पूरा गरेको थियो । जनकपुरका लागि नाकय बनेका जीमी नीशमले आक्रमक ब्याटिङ गर्दै सर्वाधिक ४५ रन बनाए । कर्णाली याक्सका युवा स्पीनर विपिन प्रसाद शर्माले ३ विकेट लिएका थिए ।