कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउँछु : डा. शेखर कोइराला
धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउने बताएका छन् । कैलालीको धनगढीमा सुदूरपश्चिमका ९ वटै जिल्लाका नेता कार्यकर्तासँगको भेटमा नेता कोइरालाले यस्तो बताएका हुन् ।
नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दे भने, ‘कांग्रेसलाई एक्लै लड्न सक्ने बलियो पार्टी बनाउँछु र अबका दिनमा पार्टीभित्र अन्याय हुन दिने छैन । न्याय हुन्छ । त्यसको जिम्मा म लिन्छु ।’ सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका कोइरालाले जिल्लाका नेता कार्यकर्तालाई आश्वस्त पार्दै भने, ‘म सबैलाई समान र उचित अवसरका लागि पार्टीभित्र लडिरहेका छु ।’
नेताहरूको पीडा आफूले बुझेको उनको भनाई थियो । ‘तपाईँहरूमाथि अन्याय भएको छ । उचित अवसर पाउनु भएको छैन । तपाईँहरूको पीडा म बुझ्छु । अब १५ औं महाधिवेशनपछि न्याय हुन्छ । म कसैलाई पक्षपात गर्दिन । तर यसका लागि तपाईँहरूको सहयोग चाहिन्छ,’ कोइराला भने ।
कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशन लक्षित गर्दै भने, ‘महाधिवेशन समयमै हुनुपर्छ । समयमा भएन भने पार्टी कमजोर हुन्छ । अनि पार्टी कमजोर भए देशमा लोकतन्त्र संकटमा पर्छ । देश र लोकतन्त्रलाई बचाउन पनि पार्टीको महाधिवेशन समयमै हुनुपर्छ ।’
कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा गम्भीर बन्न नसकेको कोइरालाले दाबी गरे । ‘यति शक्तिशाली सरकार असफल बन्ने छुट छैन, सफल बन्नै पर्छ,’ उनले भने, ‘सरकारको कार्यशैली भने सन्तोषजनक छैन ।’
उनले आफू नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेकाहरूको कार्यशैलीबाट सन्तुष्ट नरहेको समेत बताए । सुदूरपश्चिम भ्रमणको पहिलो दिन कोइरालाले ९ वटै जिल्लाका नेता तथा कार्यकर्तासँग फरक फरक अन्तरक्रिया तथा छलफल गरेका थिए । कञ्चनपुरबाट सुरु भएको भेटघाट दार्चुलासँगको छलफलपछि सकिएको थियो ।
भेटघाट कार्यक्रममा अधिकांश जिल्लाका नेता कार्यकर्ताले आफूहरू पार्टीको केन्द्रीय नेतृत्वबाट अन्यायमा परेको, गुटको आधार पक्षपात गरेको र आफूहरूलाई अवसरबाट वञ्चित गरेको गुनासो राखेका थिए । १५ औं महाधिवेशनमा आफूहरू डा. शेखर कोइरालालाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । पार्टीभित्र रहेका विवादलाई सुल्झाउन पनि सुझाव दिएका थिए ।