कोइरालासंग सांसद भाटको छलफल : सुदुरका समस्या समाधानका लागि पहल गरिदिन आग्रह
धनगढी । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासंग सुदुरपश्चिम प्रदेशका सांसद एवं पूर्व मन्त्री ओम विक्रम भाट ‘सरल’ले भेटवार्ता गरेका छन् ।
भेटका क्रममा सांसद भाटले नेता डा. कोइरालासंग सुदुरपश्चिम प्रदेशका समस्याहरुबारे जानकारी गराउँदै समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
भेटमा सांसद भाटले बाजुरामा गएको भुकम्पबारे संघीय सरकार र प्रदेश सरकारको गैरजिम्मेवार रबैयाका कारण राहत नपाएको बताउँदै अलपत्र पीडितको सम्बन्धमा सरकारसंग आवश्यक पहल गरिदिन आग्रह गरे ।
त्यस्तै दशरथ चन्द राष्ट्रिय चिकित्सा विश्वविद्यालय कांग्रेसकै कारण अगाडि बढ्न नसकेको भन्दै यसलाई अगाडि बढाउन भुमिका निर्वाह गरिदिन समेत उनले कोइरालासंग आग्रह गरे ।
उनले प्रतिनिधि सभा सदस्य समेत रहेका कांग्रेस नेता कोइरालासंग सुदुरपश्चिम प्रदेशका समस्याहरुबारे उपयोगी छलफल भएको बताएका छन् ।
भाटले आइतबार सामाजिक सञ्जाल फेसबुकमा कोइरालालाई स्वागत गरेको तस्बीर पोष्ट गर्दै भनेका छन्,‘नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला ज्युलाई सुदूरपश्चिममा स्वागत गर्दै सुदूरपश्चिमका समस्याहरुबारे उपयोगी छलफल भयो । हिजो बाजुरामा गएको भुकम्पबारे संघीय सरकार र प्रदेश सरकारको गैरजिम्मेवार रवैयाका कारण राहत नपाएको पिडित अलपत्र रहेको सम्बन्धमा सरकारसंग आवस्यक पहल गरिदिन आग्रह गरियो । दशरथ चन्द राष्ट्रिय चिकित्सा विश्वविद्यालय कांग्रेसकै कारण अगाडि बढ्न नसकेकोहुँदा यसलाई अगाडि बढाउन भुमिका निर्वाह गरिदिन आग्रह गरियो । त्यसैगरी सुख्खाबन्दरगाह, विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरुबारे छलफल भयो ।’