एनपिएलको टिकट बिक्रीबाट करिब चार करोड उठ्यो
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट बिक्रीबाट करिब चार करोड रुपैयाँ उठेको छ ।
एनपिएलको पहिलो संस्करणमा टिकट बिक्रीबाटै अनुमानित चार करोड रुपैयाँ उठेको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
उनले कीर्तिपुरस्थित त्रिवि मैदानमा १ लाख ३०/३५ हजार दर्शकले प्रत्यक्ष रुपमा मैदानमा गएर एनपिएल हेरेको अनुमान भएको बताए ।
उनले मकालुखबरसंग कुराकानी गर्दै भने ‘यसको डेटा आउँदै छ, हाम्रो अनुमान चाहिँ अहिलेसम्म १ लाख ३०/३५ हजारले चैँ प्रत्यक्ष रुपमा मैदानमा आएर खेल हेर्नुभएको छ । यसको टिकट बिक्रीबाट करिब ४ करोडको हाराहारीमा रकम उठेको छ ।’
१८ दिनसम्म चलेको एनपिएलमा ३२ खेल भएका थिए ।
अब टिकट बिक्रीबाट उठेको आधा रकम क्यानले राख्नेछ । आधा रकम फ्रेञ्चाइज क्रिकेट टोलीहरूलाई बाँडिनेछ ।
शनिवार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि जितेको थियो ।