‘नेपाल प्याक प्रिन्ट इन्टरनेशन एक्स्पो’ सम्पन्न, २८ हजारले गरे अवलोकन
काठमाडौँ । प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरूको मेला ‘नेपाल प्याक प्रिन्ट इन्टरनेशन एक्स्पो’ आइतबार सम्पन्न भएको छ ।
गत शुक्रवारदेखि काठमाडौंको भृकुटिमण्डमा आयोजना गरिएको प्रविधि प्रदर्शनीमा २८ हजार मानिसहरूले अवलोकन गरेको आयोजकले जनाएको छ ।
प्रदर्शनीले नेपालमै बसेर प्रविधिको क्षेत्रमा काम गर्दै आएका कम्पनी र मानिसहरूलाई थप प्रोत्साहित गरेको आयोजक संस्था मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रबन्ध निर्देशक सिर्जल भट्टराईले बताए । उनले प्रदर्शनीमा सहभागी हुन आएका विदेशी कम्पनीहरूबाट समेत सकारात्मक प्रतिक्रिया पाएको बताए ।
उनका अनुसार प्रदर्शनीलाई इमिर्जङ मार्केटका रुपमा लिनुभएका विदेशी प्राविधिक कम्पनीहरू नेपालमै प्रविधिको क्षेत्रमा लगानी गर्न समेत उत्साहित भएका छन् । उक्त प्रदर्शनीले नेपालको अर्थतन्त्र उकास्नका लागि समेत सहयोग पुग्ने उनको विश्वास छ ।
उनले भने ‘हाम्रो प्रदर्शनीलाई करिब २८ हजार जनाले अवलोकन गर्नुभएको छ । यो अवलोकन गर्नेहरूमा पनि धेरै मान्छेहरू उद्यमी, व्यवसायी र प्रविधिको क्षेत्रमा काम गर्ने मान्छेहरू रहनु भएको छ । यहाँ हामीले नेपाल, भारत लगायतका देशहरूबाट आउनु भएका यही क्षेत्रमा काम गर्ने चीन, भारत लगायतका कम्पनीहरूको प्रतिक्रिया पनि लिएका थियौँ । उहाँहरुले पनि यसलाई ईमर्जिङ मार्केटको रुपमा लिएर यसको माध्यमबाट नेपाली मार्केटमा कनेक्ट गर्न सजिलो भयो । हामीले आफ्नो कम्पनीहरूको प्रचार गर्न पाएको र अगामी वर्षहरूमा हुने प्रदर्शनीमा समेत सहभागी हुने भन्नुभएको छ । उहाँहरुले नेपालमा रोजगारीका थप अवसरहरू सिर्जना हुने पनि विश्वास गर्नु भएको छ । विश्वका विभिन्न नयाँ नयाँ प्रविधिहरूको नेपालमै अवलोकन गर्न पाउँदा देशभित्रै प्रविधिको क्षेत्रमा काम गर्ने साथीहरू खुसीका साथै उत्साहित पनि भएका छन् । यस प्रदर्शनीले नेपालको अर्थतन्त्र उकास्नका लागि पनि सहयोग गरेको उहाँहरूको प्रतिक्रिया छ । यो प्रदर्शनमा तीनदिन सम्म आएर भ्रमण गर्नुहुने सबै जनालाई आयोजकको तर्फबाट धन्यावाद भन्न चाहन्छु ।’
उनले यस्ता मेलाहरूले स्वदेशमै रोजगारी सिर्जना गर्न मद्दत पुग्ने र विदेश जानुपर्ने बाध्यता हटाउने बताए । उनले मेला नयाँ नयाँ प्रविधिहरूसँग जोड्ने र नेपालमै बसेर आर्थिक पक्ष सबल बनाउन महत्वपूर्ण हुने बताए ।