सञ्चार र मिडियासम्बन्धी दुई दिने ‘काठमाडौं सम्मेलन २०२४’ सुरु

काठमाडौँ । सञ्चार र मिडियासम्बन्धी दुई दिने काठमाडौं सम्मेलन २०२४ आईतवारदेखि सुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च–नेपालको संयुक्त आयोजनामा ’सञ्चार र मिडिया सम्बन्धी काठमाडौं सम्मेलन २०२४’ आयोजना भएको हो ।

बल्खुस्थित त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग (क्यामेरा भवन) मा दुई दिन चल्ने सम्मेलनमा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुति, विषयगत छलफल तथा मिडिया क्षेत्रका समसामयिक विषयहरूमा विमर्श भएको छ ।

आइतबारको उद्घाटन सत्रमा वरिष्ठ पत्रकार तथा प्राध्यापक पी। खरेलले बहुमाध्यमको युगमा विभाजित पाठक शीर्षकका विषयमा सम्मेलनमा राखे । सम्मेलनमा दक्षिण एसियाका सञ्चार, मिडिया र पत्रकारिता क्षेत्रका विद्वानहरूको कार्यपत्र प्रस्तुतीकरण, विशेष व्याख्या हुनेछ । सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, श्रीलंका लगायत मुलुकका विज्ञहरूको सहभागिता रहेको छ ।

सम्मेलनको पहिलो दिन दुईवटा सत्रमा तीनवटा विशेष प्रस्तुतिसहित १५ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत भएको छ । सोमवार कृत्रिम बुद्धिमत्ता (एआई) युगमा मिथ्यासूचनाको सामना, मिडिया र भ्रष्टाचार, पत्रकारिताको दिगोपना, मिडिया शिक्षाको भविष्य, पत्रकारिताको भविष्य र मिडिया–राज्य सम्बन्ध लगायतका विषयमा प्यानल छलफल हुने आयोजकले जनाएको छ ।

नेपाली पत्रकारिता र सञ्चार क्षेत्रमा अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन, सञ्चार र पत्रकारिता क्षेत्रका विविध विषयमा संवाद संस्कृतिको विकास, नयाँ नयाँ प्रविधिले ल्याएका अवसरको सदुपयोग र चुनौतीलाई सामना गर्न सहयोग सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *