कृषि क्षेत्रको विकास गर्न सामूहिक प्रयास आवश्यक : कृषिमन्त्री
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रयास आवश्यक रहेकामा जोड दिएका छन् ।
सातवटै प्रदेशका कृषिमन्त्रीको उपस्थितिमा आज मन्त्रालयमा आयोजित विषयगत समितिको १०औँ बैठकलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले राज्यको क्षमताअनुसार योजना बनाउनुपर्ने भन्दै बनेका योजनाको प्रभावकारी कार्यान्वयन गर्न सबैको सहयोग र समन्वय आवश्यक पर्ने बताए ।
“बाँझो जग्गामा खेती गर्ने व्यवस्था गर्नेगरी स्थानीय तहमार्फत कानुन तथा कार्यविधि बनाई लागू गर्न आवश्यक छ, यसका लागि प्रदेश र सङ्घीय सरकारले सशर्त र विशेष अनुदान उपलब्ध गराउनुपर्छ”, उनले भने ।
मध्यपहाडी क्षेत्रमा फलफूलको सम्भावना रहेको भन्दै तीनै तहका सरकार सम्भाव्यता अध्ययन गरी प्रभावकारी योजनामार्फत कार्यान्वयन गर्दै जानुपर्ने मन्त्री अधिकारीले बताए । विदेशबाट फर्किएकालाई कृषि क्षेत्रमा लगाउने आधार बनाउने गरी काम गर्न उनले सरोकार भएका सबैलाई आग्रह गरे ।
बैठकमा सातै प्रदेशका कृषि क्षेत्रसँग सम्बन्धित सचिवले प्रदेशमा कृषि क्षेत्रको वर्तमान अवस्थाबारे प्रस्तुति गरे । बैठकमा प्रदेशमन्त्रीले आ–आफ्नो धारणा व्यक्तगरेका थिए । बैठकमा यसअघि बसेको नवौँ बैठकले गरेका निर्णय कार्यान्वयनको समीक्षा पनि भएको थियो ।