मेरो पेटमा सहकारीको एक पैसा परेको छैन : रवि लामिछाने
काठमाडौँ । सहकारी ठगी प्रकरणमा दुई महिनादेखि प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेले आफूले सहकारीको एक पैसा पनि आफ्नो पेटमा नपरेको बताएका छन् ।
बयानमा सभापति लामिछानेले आफूले सहकारीको पैसा अपचलन नगरेको र एक पैसा पनि आफ्नो पेटमा नपरेको दाबी गरेका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले शुक्रवार जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा संलग्न बयानमा उनले आफू सहकारीको एक पैसा पनि नखाएको बताएका हुन् ।
सभापति लामिछानेले गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा आफूले केही चेकमा हस्ताक्षर गरेको आफ्नो हस्ताक्षर दुरुपयोग गरिएको बताए । उनले आफूलाई पनि गुमराहमा पारी अध्यक्ष जीबी राईले नै प्रयोग गरेको जिकिर गरेका हुन् ।
‘मैले विश्वासमा हस्ताक्षर गरेर छोडेका खाली चेकहरूको दुरुपयोग हो, या त लगानीकर्ता गितेन्द्रबाबु राईको निर्देशनबमोजिम मेरो जानकारीबिना मलाईसमेत झुक्यानमा पारी वा पहिला मलाई चेकमा दस्तखत गराई पछि सहकारीको नाउँ लेखेर भुक्तानी गराई मलाई समेत गुमराहमा राख्ने कार्य गरेका चेकहरू हुन सक्छन्,’ उनले भनेका छन् ।