खेलकुदमन्त्री भन्छन्– दोस्रो एनपिएल थप उत्कृष्ट बनाइने छ

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अहिलेको भन्दा थप व्यवस्थित र उत्कृष्ट बनाइने बताएका छन् । यसका लागि सरकारका तर्फबाट लागिपर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री चौधरीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान भइसकेको जानकारी दिए । रङ्गशाला अत्याधुनिक बनाउन स्रोत सुनिश्चित भएको उनले बताए ।

खेल क्षेत्रको विकासका लागि सबैभन्दा ठूलो चुनौती भौतिक पूर्वाधार रहेको उल्लेख गर्दै मन्त्री चौधरीले आफ्नो मन्त्रालयको कुल बजेट रु तीन अर्ब ५० करोड रहेकाले खेलकुद र खेलाडीको वृत्तिविकासका लागि अपेक्षाकृत काम गर्न नसकिएको बताए ।

मन्त्री चौधरीले मूलपानी, विराटनगर क्रिकेट रङ्गशाला र कीर्तिपुर रङ्गशालामा गरी कुल रु १२ अर्बभन्दा बढीको लागत लाग्ने जानकारी दिए । सातै प्रदेशमा तत्काल क्रिकेट रङ्गशालाको खाँचो औँल्याउँदै उनले भने– ‘क्रिकेटका तीनवटा रङ्गशाला राष्ट्रिय गौरवको योजनामा छन् । तीनवटै रङ्गशालाको बजेट करिब रु १२ अर्ब पेस भएको छ ।’

सरकारले खेलाडीको वृत्तिविकास, मनोबल उच्च बनाउन र खेलाडीको आर्थिक अवस्था बलियो बनाउन नीतिगत निर्णय गर्ने मन्त्री चौधरीको भनाइ थियो ।

बैङ्कर्स सङ्घ, आयल निगम, विद्युत् प्राधिकरणलगायत संस्थाहरुसँग खेलाडीको वृत्तिविकास र रोजगारीका लागि छलफल भइरहेको उहाँले जानकारी दिए ।

खेलकुद क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार निर्माणको आवश्यकता रहेको बताउँदै मन्त्री चौधरीले काठमाडौँ उपत्यकाभित्रै फुटबलका लागि नयाँ रङ्गशाला निर्माण गर्न उपयुक्त स्थानको खोजी भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *