तेस्रो चरणको इपिएस भाषा परीक्षामा ३ हजार १२६ उत्तीर्ण

काठमाडौं । सन् २०२४ मा रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा ३ हजार १ सय २६ जना नेपाली परीक्षार्थी सफल भएका छन् । यस पटक उत्पादन क्षेत्रमा काम गर्न दक्षिण कोरिया जान इच्छुक २६ हजार सहभागीहरूमध्ये यो परिणाम प्राप्त भएको हो ।

वैदेशिक रोजगार विभागको इपिएस शाखाका अनुसार यस पटकको नतिजा तीन चरणको भाषा परीक्षणपछि प्रकाशित भएको हो । कोरियाको मानव संसाधन विभाग (एचआरडी) ले सम्भावित सूचीमा रहेका युवाहरूको घट्दो सङ्ख्यालाई मध्यनजर गर्दै नतिजा छिट्टै सार्वजनिक गरेको जनाएको छ ।

भाषा परीक्षामा १ लाख ६३ हजार ६ सय ३५ जना नेपालीले आवेदन दिएका थिए । तीमध्ये, तीन चरणको प्रक्रियाबाट १६ हजार ४ सय जनालाई छनोट गर्ने लक्ष्य राखिएको छ । पहिलो र दोस्रो चरणको परीक्षा सम्पन्न भइसकेको र केही उत्तीर्ण युवाहरू कोरियामा काम गर्न समेत पुगिसकेका छन् ।

इपिएस शाखाका सूचना अधिकारी कमलराज श्रेष्ठका अनुसार भाषा परीक्षामा उत्तीर्ण भएकाहरूका लागि सिप परीक्षाको तालिका छिट्टै सार्वजनिक गरिनेछ । पहिलो चरणका उत्तीर्णहरू कोरियाको रोस्टरमा रहेकाले त्रैमासिक रूपमा छनोट गरिने प्रक्रिया अपनाइएको छ ।

सन् २०२४ का लागि कोरियाले नेपालका लागि इपिएस कोटा बढाएको छ । यसले गर्दा सन् २०२५ मा अझ बढी नेपाली युवाहरूले कोरियामा रोजगारीका अवसरहरू पाउने सम्भावना रहेको अधिकारीहरूले बताएका छन् । तेस्रो चरणको यो भाषा परीक्षा पुस २ गते सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *