सरकारको पाँच महिना

असन्तुष्टि बढेपछि काम गर्ने मन्त्री खोज्दै प्रधानमन्त्री

काठमाडौं । गत असार ३० गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेससँग सात बुँदे सहमतिका आधारमा प्रधानमन्त्री बनेपछि पाँच महिना बितिसकेको छ । राजनीतिक स्थिरता, आर्थिक सुधार र संविधान संशोधनजस्ता ठूला उद्देश्यसहित बनेको सरकारप्रति जनताको अपेक्षा उच्च थियो ।

तर, पाँच महिना बितिसक्दा पनि सरकारले जनतामा विश्वासको वातावरण बनाउन नसकेको चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्री ओली आफैं मन्त्रीहरूको प्रदर्शनप्रति असन्तुष्टि जनाउँदै आएका छन् । मन्त्रिपरिषद् बैठकमै उनले कुनै पनि मन्त्रालयले जनताले महसुस गर्ने खालको काम गर्न नसकेको भन्दै निराशा व्यक्त गरे । ‘अपवादबाहेक कुनै मन्त्रालयले देखिने परिणाम दिन सकेको छैन,’ प्रधानमन्त्रीले बैठकमा भने ।

मन्त्रीहरूको निष्क्रियता र कर्मचारीतन्त्रको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै उनले मन्त्रीहरूलाई सक्रिय भएर काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले काम गर्ने मन्त्रीको खोजी सुरु गरेको बताइन्छ । उसो त प्रधानमन्त्री ओलीले पटक-पटक मन्त्रिमण्डल पुनर्गठनको प्रयास गरे पनि सत्ता साझेदार नेपाली कांग्रेसको सहमति नपाउँदा प्रयास सफल हुन सकेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको समीकरणमा असर पर्ने डरले मन्त्री हेरफेरको कदम रोकेका छन् । कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले हालको अवस्थामा मन्त्री फेर्नु उपयुक्त नभएको तर्क गरे । ‘अहिले नीति अर्कैको छ, बजेट अर्कैको छ,’ उनले भने, ‘मन्त्रीहरूले ढिलासुस्ती र भ्रष्टाचार नगर्दा पनि ठूलो उपलब्धि हो ।’

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार जनअपेक्षाअनुसार चल्न नसकेको टिप्पणी गरे । ‘सरकारले अहिले पनि जनताको आशाअनुसार काम गर्नुपर्छ,’ उनको सुझाव छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख तीन दल-नेपाली कांग्रेस, नेकपा एमाले, र माओवादी केन्द्रलाई भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् । उनले सत्तारूढ दलहरूलाई भ्रष्टाचाररहित राजनीतिमा फर्कन आग्रह गर्दै भने, ‘भ्रष्टाचार अन्त्यका लागि अधिकारसम्पन्न आयोग गठन गरी सबै दोषीहरूलाई कारबाही गर्नुपर्छ ।’

जनताको निराशा हटाउन गठबन्धनको सहकार्य र प्रभावकारी कामको खाँचो स्पष्ट देखिन्छ । आम जनताले परिणाम महसुस गर्न नसकेको यथार्थले सरकारको चुनौती झन् गहिरिएको छ । अबको प्राथमिकता सरकारको प्रदर्शन सुधार र जनविश्वासको पुनर्निर्माण हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *