लामिछानेको तस्बिर सार्वजनिक प्रकरणमा डा. निकोलस भुसाल पक्राउ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार साँझ काठमाडौंको थली क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो ।
भुसालले लामिछानेलाई भेट्न कास्की प्रहरी कार्यालय पुगेका बेला सिसिटिभीमा देखिएको तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेको स्वीकार गरेका छन् । फेसबुक लाइभ मार्फत भुसालले भनेका थिए, ‘मैले प्रहरीकै सिसिटिभीमा देखेर फोटो खिचेको हुँ। त्यो बेला कसैले केही भनेन । गल्ती भएको स्विकार्छु ।’
यस घटनाले सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले छानबिनको निर्देशन दिएका थिए । कास्की प्रहरीले विज्ञप्ति जारी गर्दै भुसालको यो कार्य साइबर कानुनको उल्लंघन भएको जनाएको छ । पक्राउ परेका भुसाललाई थप अनुसन्धानका लागि पोखरा पठाइने तयारी भइरहेको छ ।