फौजदारी न्याय प्रणालीलाई विश्वसनीय बनाउनुपर्छ : प्रधानन्यायधीश राउत
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले फौजदारी न्याय प्रणालीलाई गतिशील, प्रभावकारी एवं विश्वसनीय बनाउनुपर्ने बताएका छन् ।
महान्यायाधिवक्ता कार्यालयको ७४ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले फौजदारी न्याय प्रणालीलाई गतिशील, प्रभावकारी एवं विश्वसनीय बनाइ पीडितको पुनः स्थापना र प्रतिनिधित्वलाई स्वच्छ, सुनुवाइको प्रत्याभूति गरी यस प्रणालीप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्न महान्यायाधिवक्ता कार्यालयको अहं भुमिका रहने बताए । उनले स्वतन्त्र, सक्षम तथा प्रभावकारी फौजदारी न्याय प्रशासनको माध्यमबाट कानुनको शासन र न्यायपूर्ण समाजको स्थापना गर्न सकिने उल्लेख गरे ।
उनले फौजदारी न्याय प्रणालीको प्रभावकारिता र विश्वसनीयताको लागि त्यसमा आबद्ध संस्था र निकायहरूको सक्षमता, निष्पक्षता, व्यावसायिकता र जबाफदेहिता अपरिहार्य रहेको बताए । उनले अपराधको प्रकृतिमा आएको परिवर्तन एवं सूचना प्रविधिको प्रयागमार्फत हुने अपराधका कारण अपराधको अनुसन्धान तथा अभियोजनमा समेत चुनौती थपिएको बताए ।
यस किसिमको चुनौतीको सामना गर्न फौजदारी न्याय प्रशासनको क्षेत्रमा सूचना र प्रविधिको प्रयोगलाई बिस्तार गर्नुका साथै जनशक्तिको क्षमता अभिवृद्धि गर्नुपर्ने बताए । प्रभावकारी अभियोजन र प्रतिरक्षाका लागि नीतिगत, कानुनी, कार्यविधिगत सुधार, आवश्यक मापदण्डहरूको निर्माण र सरकारी वकिल कार्यालयको भौतिक पूर्वाधार सुधार, विशिष्टीकृत लगायतका तालिमहरूमार्फत जनशक्तिको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताए ।
उनले भने ‘फौजदारी न्याय प्रणालीको केन्द्रीय भूमिकामा रहेको महान्यायाधिवक्ता कार्यालयका विभिन्न चरणहरू पार गर्दै आजको अवस्थामा आइपुगेको छ । यसलाई सक्षम, सुदृढ एवं गतिशील संस्थाको रुपमा स्थापित गर्न भुमिका निर्वाह गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरूको स्मरण गर्न चाहन्छु । फौजदारी न्याय प्रणालीलाई गतिशील, प्रभावकारी एवं विश्वसनीय बनाइ पीडितको पुनः स्थापना र प्रतिनिधित्वलाई स्वच्छ, सुनुवाइको प्रत्याभूति गरी यस प्रणालीप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्न महान्यायाधिवक्ता कार्यालयको अहं भुमिका रहने गर्दछ । स्वतन्त्र, सक्षम तथा प्रभावकारी फौजदारी न्याय प्रशासनको माध्यमबाट कानुनको शासन र न्यायपूर्ण समाजको स्थापना गर्न आजको यस विशेष दिनले सम्बन्धित सबैमा थप ऊर्जा, हौसला र प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु । फौजदारी न्याय प्रणालीको प्रभावकारिता र विश्वसनीयताको लागि त्यसमा आबद्ध संस्था र निकायहरूको सक्षमता, निष्पक्षता, व्यावसायिकता र जबाफदेहिता अपरिहार्य मानिन्छ ।’
प्रधानन्यायधीश राउतले सरकारी वकिल कार्यालयको संस्थागत सुदृढीकरण र सरकारी वकिलहरूको व्यावसायिक अभिवृद्धिको लागि महत्वपूर्ण काम भइरहेको बताए ।