अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिण्टनमा नेपालको खराब प्रदर्शन

काठमाडौँ । अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिण्टनमा क्षितिज खनालसँगै नेपाली खेलाडीको यात्रा छनोट चरणमा नै सीमित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवारदेखि सुरु भएको ब्याडमिण्टन च्यालेन्जको मेन्स सिंगल्समा नेपालका क्षितिज क्वालिफेकसन राउण्ड पार गर्न असफल भएका हुन् ।

नेपाल ब्याडमिण्टन संघको आयोजनामा नेपालमा दोस्रोपल्ट भएको अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिण्टनमा नेपालबाट ९ पुरुष र ७ महिला खेलाडीले चुनौती प्रस्तुत गर्दैछन् । तीमध्ये प्रिन्स दाहाल र रशिला महर्जनले छनोट खेल्नु परेन । अन्यले भने क्वालिफिकेसन गर्नुपर्ने प्रावधान हुँदा पहिलो दिन सबै खेलाडीको प्रदर्शन सुखद् बन्न सकेन ।

क्षितिजले क्वालिफिकेसनको पहिलो खेलमा भारतका चरन केलाभाथुलाई २१–१४, १७–२१ र २१–१७ ले हराउँदै सुखद् सुरुआत गरेका थिए । तर उनी दोस्रो खेलमा भने भारतकै सिद्धान्त सेलासँग पराजित हुन पुगे । क्षितिज सिद्धान्तसँग २१–१४ र २१–१५ ले सहजै पराजित भएका हुन् । त्यसअघि सिद्धान्तले नेपालकै देवराज रानालाई हराउँदै दोस्रो चरणको खेल तय गरेका थिए ।

देवराजले भने सिद्धान्तसँग समान २१–११ को नतिजा सामना गरेका हुन् । पुरुष सिंगल्सको क्वालिफिकेसनमा नै भोजबहादुर गुरुङ, जीवन आचार्य र प्रफूल महर्जनले पनि पहिलो खेलमा नै हार व्यहोरेका छन् ।

भोजबहादुरले भारतका मोहिथ पलाक्षसँग २१–९, २१–१०, जीवनले भारतकै प्रणव रामसँग २१–१२, २१–१५ तथा प्रफूलले खान्दोकर अब्दुससँग २१–१५, २१–१८ ले हार सामना गरेका हुन् । यसै विधामा नेपालका अमन महर्जन र सुनिल जोशीको यात्रा पनि छनोट चरणमा नै सीमित भयो । अमन भारतका अतुल माथ्वेसँग २१–१५, २१–९ तथा सुनिल श्रीलंकाका शेनुक सामरारत्नेसँग २१–१८, २१–८ ले पराजित भए ।

महिला सिंगल्समा पनि नेपालकी रशिला महर्जन राउण्ड अफ ३२ मा नै पराजित भएकी छिन् । उनी भारतकी अदिति भाटसँग २१–१२ र २१–१४ ले पराजित भएकी हुन् ।

नेपाल ब्याडमिण्टन संघको आयोजनमा नेपालमा दोस्रोपल्ट आयोजना हुन लागेको हो । विश्वका पाँच महादेशका नेपालसहित २२ राष्ट्रले यस नेपाल च्यालेन्जमा प्रतिस्पर्धा गर्दैछन् । उक्त प्रतियोगिताको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । सो अवसरमा पूर्वप्रधानमन्त्री दाहालले खेल एक प्रतिस्पर्धा मात्र नभएर दुई देशबिच सद्भाव कायम गर्ने बलियो माध्यम रहेको बताए ।

दाहालले खेल एक प्रतिस्पर्धा मात्र नभएर देशका भेषभुषा र कला संस्कृतिको प्रवर्द्धनसँगै एकआपसमा दुई देशबिच सद्भाव कायम बलियो माध्यम रहेको उल्लेख गरेका हुन् ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपालमै अन्तर्राष्ट्रिय खेलकुद आयोजनाका लागि राखेपले प्रोत्साहन गर्दै आएको बताए । विश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एसियाको स्वीकृतिमा नेपाल च्यालेन्ज २०२४ भएको हो । नेपालसहित भारत, अमेरिका, थाइल्याण्ड, सिंगापुर, श्रीलंका, बङ्गलादेश, भियतनाम, क्यानडा, मलेसिया, इन्डोनेसिया, इरान, इटाली, संयुक्त अरब इमिरेट्स (युएई), जाम्बिया, युगाण्डा, इङ्ल्याण्ड, न्युजिल्याण्ड, म्यानमार, अस्ट्रेलिया, युक्रेन र जापानका कुल एक सय ७४ खेलाडीले यस च्यालेन्जमा प्रतिस्पर्धा गरिरहेका छन् । च्यालेन्जमा पुरुष÷महिला एकल तथा युगल र मिक्स युगल गरी पाँच विधामा प्रतिस्पर्धा भइरहेको छ ।

१५ हजार अमेरिकी डलरको पुरस्कार राशि रहेको प्रतियोगिताका विजेता, उपविजेता, सेमिफाइनलिस्ट र क्वाटरफाइनलिस्टले क्रमशः १२ सय डलर, ७२० डलर, ६ सय डलर र ४८० डलर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *