एनसेल फाउण्डेसनले एनपीएलका चौका वापत २६ सय बढी शैक्षिक सामग्री वितरण गर्ने

खेललाई शिक्षासंग जोड्दै अघि बढिरहेको एनसेल फाउण्डेसन

काठमाडौं । एनसेल फाउण्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौका वापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुरुप दुई हजार ६ सय बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।

यी सामग्रीहरु ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिने छन् । शनिबार समापन भएको ऐतिहासिक एनपीएलमा कुल ६५३ चौका हानिका थिए । यस वापत एनसेल फाउण्डेसनले घोषणा गरे बमोजिम दुई हजार ६ सय १२ वटा शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गर्ने भएको हो ।

क्रिकेटदेखि कक्षाकोठासम्मको यस नविन पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्‍याउने विश्वास लिएको छ ।

विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीहरु जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ ।

एनपीएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्टस्का खेलाडी लाहिरु मिलान्थाले हानेका छन् । उनले कुल ३५ चौका हानेर१४० वटा शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् । त्यस्तै दोश्रोमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौका हानेका थिए जसबाट १२० शैक्षिक सामग्री र तेश्रोमा लुम्बिनी लायन्सका रोहित कुमार पौडेल २६ चौका वापत १०४ शैक्षिक सामग्रीको वितरण गरिने भएको हो ।

त्यसैगरी चितवन राइनोज्का रविन्द्र बोपारा र सुदूरपश्चिम रोयल्सका सैंफ जैब प्रत्येकले २४ चौका हानेर १९२ शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका थिए । “क्रिकेट खेल र एनसेल फाउन्डेसनको सामाजिक कार्य दुवैका हिसाबले यो एनपीएल एकदमै उत्साहजनक रह्यो । क्रिकेटप्रतिको चाखलाई सामाजिक कार्यसँग जोड्दै शिक्षाको लागि स्रोत आवश्यक रहेका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गर्न यो पहलकदमी गर्न पाउँदा हामी अत्यन्त खुसि छौ र यसको लागि हामी क्रिकेट एशोसिएसन नेपाल (क्यान) तथा प्रत्येक खेलाडीलाई बधाई तथा धन्यवाद दिन चाहन्छौं । शैक्षिक सामग्री वितरणको लागि हामी क्यान, सम्बन्धित टिमहरु अन्य सरोकारवालाहरुसँग सहकार्य गर्नेछौं,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।

नेपाली समुदायहरूसँग गहिरो सम्बन्ध राख्ने मध्येको एक खेल क्रिकेट भएकाले यो पहलले खेलमा अझै रोमाञ्चकता थपेको थियो । यसले सहयोग र स्रोत बढि आवश्यकता भएकाहरुसम्म आवश्यक सहयोग पु¥याउँन मद्दत गर्दछ । सामुदायिक विद्यालयका लक्षित विद्यार्थीहरुसम्म यी सामाग्रीहरु पुर्याउनका लागि एनसेलले कर्मयोग फाउन्डेसनसँग सहकार्य गरेको छ ।

एनपीएलका लागि एनसेलको साझेदारी र प्रत्येक चौका वापत ४ वटा शैक्षिक सामग्रीको वितरण कम्पनीको ‘हामी तपाईंकै लागि’ भन्ने थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धता अनुरुप रहेको थियो ।

एनसेल फाउण्डेसन महत्वपूर्ण सामाजिक आवश्यकताहरू पूरा गर्न प्रभावकारी पहल मार्फत समुदायहरूको समृद्धिमा योगदान पुर्‍याउन प्रतिबद्ध रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *