सुशासन र जवाफदेहीताका लागि बेरुजु शून्य बनाउनुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन कायम गर्न प्रदेश सरकारले बेरुजु शून्य बनाउनुपर्नेमा जोड दिएका छन् ।

महालेखापरीक्षकको कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको समन्वयमा सोमबार प्रदेश राजधानी देउखुरीमा आयोजना गरेको लेखापरीक्षण, बेरुजु फर्छ्यौट र सम्परीक्षण सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले बेरुजु फर्छ्यौटलाई प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायलाई निर्देशन दिए । उनले भने,“सुशासन र जवाफदेहीता कायम गर्न बेरुजुलाई शून्यमा झार्ने रणनीति सरकारले बनाएको छ ।”

कर्मचारीको कार्यसम्पादन मुल्याङ्कनमा बेरुजु फर्छ्यौटलाई अनिवार्य समेटनुपर्ने मुख्यमन्त्री आचार्यले बताए । प्रदेश सरकारले बेरुजु घटाउने बिषय रणनीतिक योजनाहरुमा समेटेर अघि बढाएको र कर्मचारी तहमा जारी गरेको १४ बुँदे निर्देशनले समेत सम्बोधन गरेकाले आगामी दिनमा सुधार हुने विश्वास उनले व्यक्त गरे ।

प्रदेश तहमा जनशक्तिको अभावलाई समाधान गर्नेगरी लोकसेवा आयोगले कर्मचारी छनोट, बढुवालाई अघि बढाएकाले कार्यसम्पादन सहज हुने बताए । महालेखा परीक्षक तोयम रायाले सुशासन कायम गर्ने भूमिकालाई प्रभावकारी बनाउन बेरुजु फर्छ्यौटलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले बेरुजु नआउने गरी काम गर्न जरुरी रहेको उल्लेख गरे । प्रदेश तथा स्थानीय तहका कार्यालयहरुमा लेखापरीक्षणको काम अघि बढेको, प्रारम्भिक प्रतिवेदनको जवाफ दिँदा धेरै समस्या आफै समाधान भएर जाने भएकाले त्यसमा ध्यान दिन उनले आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *