आजका शीर्ष समाचार : रविको सांसद पद निलम्बन,डीपीले सम्हाले रास्वपाको ‘कमाण्ड’,कांग्रेसभित्र विचलन

सांसद पदबाट निलम्बित भए रवि लामिछाने

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले सोमबार एक सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको छ ।

‘प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको सो कानुनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ‚’ संसद् सचिवालयद्धारा जारी सूचनामा उल्लेख छ ।

आइतबार सरकारी वकिल कार्यालय कास्कीले सहकारी ठगी,सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा मुद्दा दायर गरेको थियो । प्रहरीले आइतबार नै लामिछाने विरुद्ध जिल्ला अदालत कास्कीमा दर्ता भएको अभियोगपत्रका विषयमा सभामुख देवराज घिमिरेलाई पत्रमार्फत जानकारी गराइसकेको थियो ।

अहिले काँग्रेसभित्र विचलन छ : नेता कोइराला

नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले नेपाली काँग्रेसभित्र विचलन रहेको स्वीकार गरेका छन् । सोमवार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले पार्टीमा विचलन रहेको बताएका हुन् ।

उनले आफूलाई ४०/६० को भागबण्डामा लागेको आरोप लागेपनि पार्टी सभापतिले सबै नेताहरुको कुरा नसुनेपछि बाध्य भएको बताए । उनले सभापति शेरबहादुर देउवाले सबै नेताहरुको कुरा नसुन्दा चुप लागेर बस्न नसकेको उहाँको स्पष्टीकरण थियो । सभापतिले केही पनि कुरा नसुन्दा राजनीति गर्नेहरुलाई अफ्ठ्यारो पर्ने जिकिर गर्नुभयो ।

उहाँले पार्टी सभापति देउवा पूर्वप्रधानमन्त्री स्व. भट्टराईको अनुयायी भएको बताउँदै सभापति देउवाले नै गटलाई फस्टाइदिने गतिविधि गर्नुभएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले पार्टीमा वास्तवमा हामीको विचलन छ । स्वीकार्नुपर्छ । अघि राजेशजीले भन्नुभयो, शेखरजी पनि अब त भागबण्डामा लागि सक्नुभयो भनेर । ४०/६० को भागबण्डा भनेर भन्नुभयो । मैले पहिला भनेकै हो । तर भागबण्डा भनेर चुप लागेर बस्ने त होइन नि । उहाँले केही पनि सुन्दै नसुन्ने हो भने सभापतिजीले अनि त अफ्ठ्यारोमा पर्छ । राजनीति गर्नेहरुलाई अफ्ठ्यारो पर्छ । यो हामीले बुझ्न जरुरी छ । इतिहासकारहरुले पनि यो बुझ्न जरुरी छ । त्यसलाई कसले म्यानेज गर्ने भन्दा किसुनजीकै अनुयायीहरुले हो । अहिलेको आदरणीय सभापति किसुनजीको एकदम अनुयायी हो । गुटलाई फस्टाइदिने काम नै उहाँले गरिसकेपछि अनि अफ्ठ्यारो परिस्थिति सिर्जना हुँरो रहेछ । अहिले जसरी देशको राजनीतिक परिस्थिति अगाडि बढेको छ । त्यो राजनीतिक परिस्थिति किसुनजीहरु भएको भए के गर्नुहुन्थ्यो भन्ने लाग्छ । विपी, गणेशमान र अरु नेताहरु भएको के गर्नुहुन्थ्यो ।’

नेता कृष्णप्रसाद भट्टराईले संवैधानिक राजतन्त्र हुनुपर्छ भन्ने एजेण्डा लिएर अघि बढ्नुभएको स्मरण गर्नुभयो । अग्रजहरुले देखाएको बाटोमा नेपाली काँग्रेस हिँड्नुपर्ने बताउनु भयो ।

आगामी निर्वाचनमा काँग्रेस एक्लै लड्छ : नेता सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनमा काँग्रेस एक्लै प्रतिष्पर्धा गर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा नेपाली काँग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी निर्वाचन एक्लै लड्ने र बहुमत ल्याउने दाबी गर्नुभयो ।

उहाँले अहिलेको अभियान ०८४ कै तयारीको प्रारम्भ भएको उल्लेख गर्नुभयो । उहाँले आफूले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न काँग्रेस अघि सर्नुपर्ने र कमी कमजोरीको पनि आफूले जस/अपजस लिनुपर्ने बताउनु भयो ।

उहाँले राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि गरेका संघर्षहरु जनतामाझ पु¥याउनुपर्ने बताउनु भयो । जनताका अधिकार पूरा कार्यान्वयन गर्न धेरै काम गर्न बाँकी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी आगामी चुनाव एक्लै फेस गर्दछौँ । एक्लै जान्छौँ चुनावमा । एक्लै फेस गरेर जाँदा पनि हार्ने गरी होइन, बहुमत ल्याउने गरी जाने हो । त्यसको तयारीको प्रारम्भ हो यो अहिलेको अभियान । काँग्रेस पार्टीका साथीहरुले बढो गर्वका लागि राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि हामीले गरेको संघर्ष, आन्दोलन, क्रान्ति, जेजे छ, जेजे जान्नुहुन्छ, हामीले भन्दै जानुपर्छ । भन्न छोड्नु हुन्न । किनभनले देशको राजनीतिक फाउण्डेशन हाम्रै नेतृत्वमा बनेको छ । देशको विकासमा हामीले जे जति काम गरेका छौँ । गरेका राम्रा कुराहरु भन्दै जानुपर्छ, भन्न छोड्नुहुन्न । तर यो पनि होइन की पर्याप्त गरिसक्यौँ भन्ने होइन । जनताका अधिकार पूरा कार्यान्वयन गर्न धेरै काम बाँकी छ । कानून बनाउन, योजना निर्माण गर्न धेरै काम बाँकी छ । शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै काम बाँकी छ । तर जे जति गरेका छौँ, हामीले नै गरेका छौँ । नेपाली काँग्रेस पार्टीले गर्न सकेन भने कुनै पार्टीले गर्ने लक्षण देखाएको छैन ।’

नेता सिटौलाले नेपाली काँग्रेस पार्टीले गर्न नसके अरु कुनैपनि राजनीतिक दलले जनताको हितमा काम गर्न नसक्ने बताउनु भयो ।

नेपाल खेलकुद पर्यटनको हब बन्नसक्ने प्रचुर सम्भावना छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल खेलकुद पर्यटनको हब बन्नसक्ने प्रचुर सम्भावना रहेको बताउनुभएको छ ।

सोमवार योनेक्स सनराइज नेपाल इन्टरनेशनल च्यालेन्ज-२०२४ को उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले खेलले पर्यटन प्रवद्र्धनका साथै देश विकासमा सघाउ पुग्ने बताउनु भयो । उहाँले नेपाल विभिन्न प्रकारका खेलकुद गतिविधिहरुको लागि आकर्षक स्थल बन्ने बताएनु भयो ।

उहाँले राष्ट्रको प्रतिष्ठा बढाउन र अर्थतन्त्रलाई अगाडि बढाउन खेलकुदलाई महत्वपूर्ण आधार मान्नुपर्ने बताउनु भयो । आफ्नो प्रधानमन्त्रीको कार्यकालमा प्रधानमन्त्रीको कार्यकालमा नेपाली खेलकुदको विकासका लागि खेलकुद पूर्वाधार विकास र खेलाडीहरूलाई प्रोत्साहन गर्न विभिन्न प्रयासहरू थालेको दाबी गर्नुभयो ।

अध्यक्ष दाहालले आगामी दिनहरुमा पनि नेपाली खेलकुद क्षेत्रको विकासमा समर्पित रहने प्रतिवद्धता जनाउनु भयो ।

रास्वपाको कार्यवाहक सभापतिमा अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति डोलप्रसाद (डिपी)अर्याल बनेका छन्।

उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी दिएको कार्यवाहक प्रवक्ता मनिष झाले मकालुखबरलाई बताए ।

‘रवि लामिछानेको सिफारिस र सचिवालय बैठकबाट उपसभापति अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय पारित भएको छ,’कार्यवाहक प्रवक्ता झाले भने ।

रास्वपा सभापति रवि लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी सहित सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेको सांसद पद पनि निलम्बन गर्न संसद सचिवालयलाई पत्राचार गरिसकेको छ। सभामुख देवराज घिमिरले भने यस विषयमा निर्णय गरिसकेका छैनन् ।

लामिछाने गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए ।

फौजदारी न्याय प्रणालीलाई गतिशिल, प्रभावकारी एवं विश्वसनिय बनाउनुपर्छ : प्रधानन्यायधीश राउत

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले फौजदारी न्याय प्रणालीलाई गतिशिल, प्रभावकारी एवं विश्वसनिय बनाउनुपर्ने बताउनुभएको छ ।महान्यायाधिवक्ता कार्यालयको ७४ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले फौजदारी न्याय प्रणालीलाई गतिशिल, प्रभावकारी एवं विश्वसनिय बनाइ पीडितको पुनःस्थापना र प्रतिनिधित्वलाई स्वच्छ, सुनुवाईको प्रत्याभुति गरी यस प्रणालीप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्न महान्यायाधिवक्ता कार्यालयको अहं भुमिका रहने बताउनु भयो ।

उहाँले स्वतन्त्र, सक्षम तथा प्रभावकारी फौजदारी न्याय प्रशासनको माध्यमबाट कानूनको शासन र न्यायपूर्ण समाजको स्थापना गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले फौजदारी न्याय प्रणालीको प्रभावकारिता र विश्वसनियताको लागि त्यसमा आवद्ध संस्था र निकायहरुको सक्षमता, निष्पक्षता, व्यवसायिकता र जवाफदेहिता अपरिहार्य रहेको बताउनु भयो ।

उहाँले अपराधको प्रकृतिमा आएको परिवर्तन एवं सूचना प्रविधिको प्रयागमार्फत हुने अपराधका कारण अपराधको अनुसन्धान तथा अभियोजनमा समेत चुनौति थपिएको बताउनु भयो । यस किसिमको चुनौतिको सामना गर्न फौजदारी न्याय प्रशासनको क्षेत्रमा सूचना र प्रविधिको प्रयोगलाई बिस्तार गर्नुका साथै जनशक्तिको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनु भयो ।

प्रभावकारी अभियोजन र प्रतिरक्षाका लागि नीतिगत, कानूनी, कार्यविधिगत सुधार, आवश्यक मापदण्डहरुको निर्माण र सरकारी वकिल कार्यालयको भौतिक पूर्वाधार सुधार, विशिष्टिकृत लगायतका तालिमहरुमार्फत जनशक्तिको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फौजदारी न्याय प्रणालीको केन्द्रिय भुमिकामा रहेको महान्यायाधिवक्ता कार्यालयका विभिन्न चरणहरु पार गर्दै आजको अवस्थामा आइपुगेको छ । यसलाई सक्षम, सुदृढ एवं गतिशिल संस्थाको रुपमा स्थापित गर्न भुमिका निर्वाह गर्नुहुने सम्पूर्ण व्यक्तित्वहरुको स्मरण गर्न चाहन्छु । फौजदारी न्याय प्रणालीलाई गतिशिल, प्रभावकारी एवं विश्वसनिय बनाइ पीडितको पुनःस्थापना र प्रतिनिधित्वलाई स्वच्छ, सुनुवाईको प्रत्याभुति गरी यस प्रणालीप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्न महान्यायाधिवक्ता कार्यालयको अहं भुमिका रहने गर्दछ । स्वतन्त्र, सक्षम तथा प्रभावकारी फौजदारी न्याय प्रशासनको माध्यमबाट कानूनको शासन र न्यायपूर्ण समाजको स्थापना गर्न आजको यस विशेष दिनले सम्बन्धित सबैमा थप उर्जा, हौसला र प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु । फौजदारी न्याय प्रणालीको प्रभावकारिता र विश्वसनियताको लागि त्यसमा आवद्ध संस्था र निकायहरुको सक्षमता, निष्पक्षता, व्यवसायिकता र जवाफदेहिता अपरिहार्य मानिन्छ ।’

प्रधानन्यायधीश राउतले सरकारी वकिल कार्यालयको संस्थागत सुदृढिकरण र सरकारी वकिलहरुको व्यवसायिक अभिवृद्धिको लागि महत्वपूर्ण काम भइरहेको बताउनु भयो ।

रास्वपालक्षित कानूनमन्त्रीको टिप्पणी : सडक र सामाजिक सञ्जालबाट न्यायालय प्रभावित पार्न खोजियो

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टीले न्यायलयलाई प्रभावित बनाएको आरोप लगाउनुभएको छ ।
सोमवार महान्यायाधिवक्ता कार्यालयको ७४ औं स्थापना दिवसको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । रास्वपाप्रति लक्षित गर्दै सडक र सामाजिक सञ्जालबाट न्यायालयलार्य प्रभावित बनाएको आरोप लगाउनु भयो ।

उहाँले कानूनी शासनमा सय वटा दोषी छुटे पनि एउटा निर्दोष पर्नु नहुने बताउनु भयो । उहाँले लोकतान्त्रिक व्यवस्थालाई जोगाउनु सबैको दायित्व भएको बताउनु भयो।

उहाँले भन्नुभयो, ‘कानूनी शासनमा सय वटा दोषी छुटे पनि एउटा निर्दोष पर्नु हुँदैन भन्ने मान्यता छ । तर प्रमाणलाई समेत नमान्ने गरी सोसल मिडिया, फेसबुकबाट प्रेसर गर्ने, सडकबाट प्रेसर गर्ने काम भइरहेको छ । यहाँ भएका न्याय सेवा, कानून सेवाका मूर्धन्य व्यक्तित्वहरुलाई लामो समयपछि आएको यो लोकतान्त्रिक व्यवस्था छ । ठूलो सहादतबाट प्राप्त लाकतान्त्रिक व्यवस्थालाई जसरी प्रहार गरिरहेको छ, हामी सबैको दायित्व छ । कसरी सुदृढ गर्न सकिन्छ ।’

कानूनमन्त्री चौरसियाले आफूहरुको कमीकमजोरी र व्यवस्थामा भएका कमी कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।

बिदा मनाउन काठमाडौं आएका थिए हुलाकका हाकिम, छोरासँगै गयो ज्यान

जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य भक्तपुरमा छोरासहित मृत फेला परेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य आज भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा मृत फेला गरेका हुन् ।

हुलाक कार्यालयका निमित्त कार्यालय प्रमुख आचार्य छोरासँगै भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा मृत फेला परेको खबर आफूसँग आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

उनले भने‘जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य बिदामा जाने भनेर मङ्सिर २८ गते प्रशासनमा आएका थिए । आज यस्तो खबर सुनियो ।’

हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट पाँच दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा पुगेका थिए । बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबुछोरा हत्या गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

आचार्य बाबुछोराको शरीरमा चोट देखिएको र सँगै बसिरहेका जेठा छोरा सम्पर्कविहीन हुनुमा घटना शङ्कास्पद बनेको मृतकका आफन्त एवम् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका गोपाल आचार्यले बताए ।

गएराति तीन बाबुछोरा खाना खाएर सुतेका र सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको आफन्तले बताएका छन् ।

उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । शवमा चोटपटक भेटिएको र बाहिरबाट ताला लगाएकाले उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

उनीहरुको शव भाडाको कोठाबाट निकालेर परीक्षणका लागि अस्पताल लैजाने तयारी गरिएको आफन्तले बताएका छन् । बिदामा बसेका निमित्त कार्यालय प्रमुख आचार्यको मृत्यु हुनाका कारण अहिलेसम्म प्राप्त भइनसकेको जिल्ला हुलाक कार्यालय खोटाङले जनाएको छ ।

पत्रकारिता सरकारलाई खबरदारी गर्न नरोकिने आन्दोलन हो : जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पत्रकारिताले सरकारलाई सही बाटोमा लैजान खबरदारी गरेको बताउनुभएको छ ।
सोमवार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पत्रकारिता एक नरोकिने आन्दोलन भएको बताउनुभएको हो ।

उहाँले पत्रकार महासंघले ६५ वर्षको इतिहासमा जनतालाई सुसूचित र अभिव्यक्ति स्वतन्त्रताको बिस्तार लागि महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । उहाँले पत्रकारिता क्षेत्रले समाज र लोकतन्त्रलाई गति दिएको बताउनु भयो । पत्रकारिताले समाजको आत्माको रुपमा काम गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘६५ वर्षको इतिहासमा पत्रकार महासंघले जनतालाई सुसूचित र अभिव्यक्ति स्वतन्त्रताको बिस्तार मात्र होइन सूचना तथा सञ्चार संप्रेषणले स्थान पनि भएको छ । यो महत्वपूर्ण कुरा हो । पत्रकार जगतले समाजमा उत्पन्न भएका विभिन्न घटनाबारे जनतालाई सुसूचित गरेको छ । सरकारलाई सही बाटोमा लाग्नको लागि खबरदारी गरेको छ । यो एउटा नरोकिने निरन्तर आन्दोलन हो जस्तो लाग्छ मलाई । लोकतन्त्रको रक्षाका लागि समेत यो एउटा नरोकिने आन्दोलन हो । यो निरन्तर चलिरहन्छ । यहाँहरुले यो आन्दोलनको लागि खेल्नुभएको भूमिकाप्रति आभार पनि दिन चाहान्छु । पत्रकारिताले समाज र लोकतन्त्रलाई गति दिएको छ ।समाजको आत्माको रुपमा काम गरेको छ ।’

उहाँले सञ्चार क्षेत्रलाई आग्रह र पूर्वाग्रहमा हेर्नु वा आफ्नो स्वार्थमा प्रयोग गर्नु सञ्चार प्रतिको इमानदारिता नभएको बताउनु भयो ।

युवाहरुले नेपालमा सुरिक्षत भविष्य देख्न छाडे, कन्भिन्स गरौं : नेता रिजाल

नेपाली काँग्रेसका नेता डा।मिनेन्द्र रिजालले बितेको ३० वर्षमा नेपालले उल्लेख्य प्रगति गरेको भएपनि युवा पलायन नरोकिएको बताउनुभएको छ ।
सोमवार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले विगत ३० वर्षमा आर्थिक, सामाजिक, स्वस्थ्य र शिक्षाका क्षेत्रमा सुधार भएपनि युवाहरु कन्भिन्स हुन नसकेको बताउनुभएको हो ।

उहाँले युवाहरुले नेपालमा सुरिक्षत भविष्य देख्न छोडेको बताउनु भयो । उहाँले युवा पलायनको समस्यालाई चिर्न संविधान संशोधनको माध्यमबाट लोकतन्त्रका बाँकी पक्षमा काम गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले पछिल्लो समय कृत्रिम बहुमतको आधारमा सरकार बनाउने र ढाल्ने खेल भइरहेको उल्लेख गर्दै संविधानको माध्यमबाट एउटै पार्टीले प्राकृति बहुमत ल्याउने गरी व्यवस्था गर्न जरुरी रहेको बताउनु भयो । उहाँले संविधानको ९ वर्षको अभ्यासको समिक्षा गर्दै संशोधनको काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले ३० वर्षमा असाध्यै ठूलो उपलब्धी गर्यौं । यसमा जहाँसुकै मज्जाले कुरा गर्न सकिन्छ । आर्थिक, सामाजिक, स्वस्थ्य र शिक्षाका क्षेत्रमा सुधार भएको छ । तर हरेक दिन दुई हजारभन्दा बढी मान्छे प्लेन चढेर नेपाल छोडिरहेका छन् । कन्भिन्स छैन । सबैकुरा राम्रो हुँदाहुँदै पनि उसले आफ्नो भविष्य सुरिक्षत देखिरहेको छैन । अहिलेको युवा प्लेनमा उड्न पाउँदा आफूलाई सुरक्षित महशुस गरिरहेको छ । यसलाई चिरेर आशा र विश्वास जागृत गर्ने र हामीले नै बनाएको संविधानबाट लोकतन्त्रको बाँकी पक्षमा चाहीँ काम गर्नुपर्छ । हामीले संविधानमा लोकतन्त्रको मूल्य र मान्यतामा आधारित भनेका छौं । त्यसमध्ये एउटा मात्र आवधिक निर्वाचन भन्ने कुरा छ । आवधिक निर्वाचनले जन्माएको एउटा मात्र पक्ष भनेको सरकार हो । अहिले पनि कृतिम बहुमतको आधारमा मुलुकमा सरकार गठन भइरहेको छ । जनताले दिएको बहुमत कुनैपनि राजनीतिक दलले पुर्याउनका लागि हामीले बनाएको नौ वर्षको अभ्यासबाटै केही परिवर्तनहरु गर्नुपर्ने छ । त्यसका लागि कांग्रेस र एमाले आउनुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो म । ’

उहाँले पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पत्रकारिता क्षेत्रले मुलुकको विकासमा महत्वपूर्ण योगदान दिएको उहाँको भनाइ छ ।

माओवादी केन्द्रले माग्यो सार्वजनिक लेखा समितिका सभापति पोखरेलको राजीनामा

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा माओवादी केन्द्रले सभापति पोखरेलको राजीनामा माग गरेको हो । सार्वजनिक लेखा समिति सरकारको चेक एण्ड ब्यालेन्स गर्ने निकाय भएकाले समिति सभापति प्रतिपक्षको हुनुपर्ने माग गरेको हो । समिति बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरे ।

सांसद मोदीले समिति भ्रष्टाचार, कुशासन र बेथितिको छायाँजस्तो देखिएको आरोप लगाए । उनले समिति सभापति आफैँ र परिवारका सदस्यमा समेत धेरै नकारात्मक प्रश्नहरू उठेको भन्दै तत्काल सभापतिमा मार्गप्रशस्त गरिनुपर्ने बताए ।

उनले भने ‘समिति सभापति प्रति केही प्रश्नहरू उठेका छन् । सभापतिलाई थाहा छ । प्रश्न तपाईँको परिवारसँग पनि जोडिएको छ । सार्वजनिक लेखा समिति सभापति माथि प्रश्न उठेपछि सरकारलाई सुशासनमा राख्नुपर्ने वा सरकारलाई ब्यालेन्समा राख्नुपर्ने समिति सभापति माथि प्रश्न उठेपछि केही न केही बोल्नुपर्ने हुन्छ । जवाफ दिनुपर्छ । मैले धेरै पटक उठाएको छु । धेरै महिनापछि समिति बैठक बस्यौँ । चेक एण्ड ब्यालेन्सको कुरा गर्दा सार्वजनिक लेखा समितिमा सरकार र प्रतिपक्षको विषय पनि छ । आफै सभापति र पार्टी सरकारमा रहेको छ । भ्रष्टाचार र बेथिति हुनुको छायाँ सार्वजनिक लेखासमिति हो भन्ने पनि भएको छ । यो बारेमा सभापति गम्भीर हुनुहुन्छ । सभापतिले मार्ग प्रशस्त गरिदिएको राम्रो । सभापति र परिवारमा पनि प्रश्न उठेको छ । सार्वजनिक लेखा समिति प्रतिपक्षलाई दिनुपर्छ । मार्ग प्रशस्त गरे राम्रो हो भन्ने पहिला देखि भन्दै आएका छौं । सार्वजनिक लेखा समितिले धेरै विषयहरू उठाउनुपर्ने छ ।’

उनले सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने समितिका सभापतिविरुद्ध नै आर्थिक लेनदेनको कुरा उठेकाले मार्गप्रशस्त गर्नुपर्नेमा जोड दिए । उनले सहकारीका बारेमा सभापति पोखरेल र परिवारमाथि पनि प्रश्न उठेकाले समितिमा सभापतिको जवाफ माग गरे ।

शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह

बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भाग्नुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक अनुरोध गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले भारत सरकारलाई ‘नोट भर्बेल’ मार्फत यो अनुरोध गरिएको बताउनुभयो । “हामीले शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई नोट भर्बेल पठाएका छौँ”, तौहिद हुसेनले पत्रकारहरूलाई भन्नुभयो ।

अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई हप्तौँको विरोध र झडपपछि अपदस्थ गरेको थियो । विरोध र झडपका क्रममा छ सयभन्दा बढी मानिसको मृत्यु भयो । छयत्तर वर्षीया हसिना भारत भाग्नुभयो र नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भयो ।

यसअघि डिसेम्बर ९ मा शेख हसिनाले बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसलाई आफ्नो सत्ताबाट बहिर्गमनमा परिणत भएको विद्यार्थी प्रदर्शनको ‘मास्टरमाइन्ड’ भएको आरोप लगाउँदै प्रदर्शन ‘सावधानीपूर्वक डिजाइन’ गरिएको बताउनुभएको थियो ।

युनाइटेड किङ्गडम अवामी लिगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै हसिनाले प्रदर्शनकारीहरूको सबै माग पूरा भए पनि देशभरि अशान्ति जारी रहेको दाबी गर्दै यो योजनाबद्ध षड्यन्त्र भएको बताउनुभएको थियो ।

“सन् २०२४ जुलाई ७ मा सुरु भएको विद्यार्थी आन्दोलन विद्यार्थीद्वारा सुरु गरिएको थिएन, तर मलाई सत्ताच्यूत गर्न सावधानीपूर्वक डिजाइन गरिएको विरोध प्रदर्शन थियो भनेर युनुसले आफैँ भन्नुभयो…उहाँ मास्टरमाइन्ड हुनुहुन्थ्यो, उहाँले यो षड्यन्त्र सुरु गर्नुभयो किनभने सबै मागहरू पूरा भए र देशभरि विरोध प्रदर्शन भए पनि विरोधको कुनै सम्भावना थिएन…यो एक सावधानीपूर्वक षड्यन्त्र थियो”, हसिनाले दावी गर्नुभयो ।

उहाँले देशको अवस्थालाई नियन्त्रण गरेकोमा अन्तरिम सरकारको आलोचना गर्दै यसलाई ‘फासिस्ट’ भन्दै बङ्गलादेशका जनतालाई उनीहरूको अधिकारबाट ‘वञ्चित’ गरिएको बताउनुभयो । “आज बङ्गलादेश कठिन समयबाट गुज्रिरहेको छ । फासीवादी सरकारअन्तर्गत बङ्गलादेशका जनतालाई उनीहरूको अधिकारबाट वञ्चित गरिएको छ । सम्पूर्ण बङ्गलादेश जलिरहेको छ… आज, बङ्गलादेश नष्ट भइरहेको छ”, उहाँले भन्नुभयो ।

पदच्यूत प्रधानमन्त्रीले बङ्गलादेश सरकारद्वारा कथित राजद्रोहको आरोपमा पूर्व इस्कोन पुजारी चिन्मय कृष्ण दासको हालैको गिरफ्तारीको उल्लेख गर्दै भन्नुभयो, “उनीहरूले चिन्मय कृष्ण दासलाई गिरफ्तार गरे र उहाँको बचाउ गर्न कुनै प्रकारको वकिल हुन नसक्ने बताए । यो कस्तो न्याय हो ?… यसले प्रमाणित गर्छ कि बङ्गलादेशमा कानून र व्यवस्था छैन ”।

अन्तर्राष्ट्रिय समुदायले घटनाक्रमलाई नजिकबाट हेरिरहेको छ । धेरैजना हसिनाको सम्भावित प्रत्यर्पणको प्रभावबारे चिन्तित छन् ।

पाकिस्तानमा आतङ्कवादीसँगको भिडन्तमा चार सैनिकको मृत्यु, १५ घाइते

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरूबीचको भिडन्तमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् ।

उक्त घटना आइतवार प्रान्तको खैबर आदिवासी जिल्लाको दुर्गम तिराह उपत्यका क्षेत्रमा भएको थियो, जहाँ सुरक्षा बलहरूले खोजी अभियान सुरु गरेका थिए ।

नजिकैको सैन्य अस्पतालमा पठाउनु अघि घटनास्थलमा घाइते व्यक्तिहरूलाई तत्काल चिकित्सा सहायता प्रदान गरिएको थियो । पाकिस्तानी सेनाले उक्त घटनाको बारेमा आधिकारिक बयान जारी गरेको छैन ।

पाकिस्तान–अफगानिस्तान सीमामा अवस्थित तिराह उपत्यका आफ्नो रणनीतिक स्थान र आतङ्कवादको इतिहासका कारण लामो समयदेखि आतङ्कवाद विरोधी प्रयासको केन्द्रबिन्दु बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *