जलविद्युत् विकासमार्फत गरिब जनतालाई सम्पन्न बनाउँछौँ : मन्त्री खड्का
सङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पाँच महिनामा साढे नौ सय मेगावाट बिजुली बेचिएको बताएका छन् । उनले विगतका वर्षमा वार्षिक रु १८ अर्बसम्मको बिजुली भारतबाट किन्दै आएकामा पछिल्लो पाँच महिनामा बिक्री गरिएको साढे नौ सय मेगावाट बिजुलीले व्यापार घाटा समानान्तर भएको दाबी गरे ।
आज सदरमुकाम खाँदबारीमा आयोजित नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती तथा पार्टीको १०० दिने विशेष साङ्गठनिक अभियान कार्यक्रममा मन्त्री खड्काले देशमा गरिबीको रेखामुनि रहेका ८ देखि २० प्रतिशत जनताले हरेक आयोजनाबाट जलविद्युत्को शेयर पाउनुपर्ने बताए ।
उनले विपन्नका लागि आयोजना वा सरकारले कम्तीमा दुई लाखको शेयर आयोजना धितो राखेर मालिक बनाउनुपर्ने र यसका लागि छलफल प्रारम्भ भएको बताए ।
मन्त्री खड्काले सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको बताए । ऊर्जा विकासमार्फत स्थानीय जनतालाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य रहेको बताए ।