बुवा र भाइको हत्या गर्ने मिलनको बयान– धेरै पटक लोकसेवा फेल भएँ, बुवालाई डिप्रेसन थियो
काठमाडौं । भक्तपुरको बालकोटमा मृत भेटिएका कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीणको हत्या परिवारको सदस्यले नै गरेको खुलेको छ ।
कुलप्रसादका जेठा छोरा मिलन आचार्यले नै बुवा र भाइको हत्या भएको खुलेको हो । मिलनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
मंगलबार बिहान आफैँ प्रहरीमा उपस्थित भएका मिलनले अभियोग स्वीकार गरेका छन् । पारिवारिक तनावका कारण आफूले बुवा र भाइको हत्या गरेको उनले स्वीकारेको प्रहरीले जनाएको छ ।
उनले आफू लोकसेवाको परीक्षामा फेल भएको र बुवा पनि डिप्रेसनको बिरामी भएका कारण बुवा र भाइको हत्या गरेको बताएका प्रहरी स्रोतले जनायो ।
उनले बुवा र भाइको हत्या गरेर आफूले पनि आत्महत्याको प्रयास गरेको तर फल नभएको बताएका छन् ।
‘म पनि धेरै पटक लोकसेवाको परीक्षामा फेल भएँ, बुवा पनि डिप्रेसनमा हुनुहुन्थ्यो,’ उनले प्रहरीलाई भने,‘पारिवारिक तनावकै कारण म यस्तो निर्णयमा पुगेँ ।’
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार मिलनले आफैँले हत्या गरेको स्वीकार गरेका छन् । तर, त्यसमा विस्तृत अनुसन्धान हुने उनको भनाइ छ ।
मृतकहरूको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।