प्रेस विज्ञप्ति

ग्राहकहरूलाई इसेवाको अनुरोध- भ्रामक समाचारको पछि नलाग्नु

काठमाडौँ । इसेवाले आफ्ना ग्राहकहरूलाई भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरेको छ ।

पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालहरू तथा केही समाचार पोर्टलहरूमा इसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचारहरू प्रकाशित भइरहेकोले त्यस्ता समाचारहरूको पछि नलाग्न ग्राहक तथा प्रयोगकर्तालाई इसेवाले अनुरोध गरेको हो ।

केही अनलाइन समाचार पोर्टलहरूमा इसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको भनी प्रकाशित खबरहरूले इसेवा प्रयोगकर्ताहरूमा अनावश्यक त्रास र भ्रम सिर्जना भएकोमा इसेवाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

१६ वर्षको इतिहासमा इसेवाले आफ्नो सिस्टममा सुरक्षा प्रणालीलाई लिएर कुनै कमी नराखेको समेत जानकारी गराएको छ ।

विज्ञप्तिमा कम्पनीले भनेको छ ‘सर्वप्रथम इसेवा लगायतका नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहकहरू तथा मर्चेन्टहरुको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न पाउने व्यवस्था नरहेको जानकारी गराउन चाहन्छौं । भुक्तानी तथा फर्स्यौट ऐन, २०७५ अनुसार इसेवाजस्ता डिजिटल वालेटहरूको कुनै ‘क’ वर्गको वाणिज्य बैंकमा सेटलमेन्ट खातामा हुनु पर्ने प्रावधान रहेको छ । सोही प्रावधान अनुसार प्रयोगकर्ताहरूको रकम डिजिटल वालेटमा नभएर उक्त सेटलमेन्ट बैंक खातामा जम्मा हुन्छ । यस प्रणालीले ग्राहकको रकमको दुरुपयोग हुन वा कुनै पनि प्रकारको अनधिकृत पहुँचबाट सुरक्षित राख्दछ । इसेवाको हकमा पनि यहीँ कुरा लागू हुने भएकोले हाल सामाजिक सञ्जालहरूमा भ्रम सिर्जना गर्ने उद्देश्यले प्रकाशित गरिएको खबरहरूलाई दुरुत्साहन गरिन्छ ।’

इसेवाले आम जनतालाई यस्ता भ्रामक समाचारहरूको विश्वास नगरी सत्य तथ्यमा विश्वास गर्न आग्रह गरेको छ । इसेवामा रहेको ग्राहकको रकम पूर्ण रुपमा सुरक्षित रहेको इसेवाले दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *