राष्ट्रपति पौडेलद्वारा ‘क्रिसमस डे’ को शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण नेपालीहरूलाई क्रिसमस डे, २०२४ को शुभकामना दिएका छन् ।

मंगलबार राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त शुभकामना दिइएको हो ।

विज्ञप्तिमा इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीहरूमा सुख, शान्ति एवम् सुस्वास्थ्यको लागि भन्दै शुभकामना व्यक्त गरिएको छ ।

इसाई धर्मका अनुयायीहरूद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवम् सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी ‘क्रिसमस डे’ मनाउने गरिएको छ । यस अवसरमा काठमाडौं, ललितपुर, भक्तपुर र पोखरालगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमहरूको आयोजना गरी यस पर्व मनाउने गरिएको छ ।

‘क्रिसमस डे’ जस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबिच आपसी सद्‌भाव,सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको उनले जानकारी दिए ।

इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबिच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने उनले कामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *