पोखराको निषेधित क्षेत्र हटाउन रास्वपाको माग,सीडिओलाई बुझायो पत्र
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्कीको पोखरामा लागू गरिएको निषेधित क्षेत्र हटाउन माग गरेको छ । मंगलबार रास्वपाका कास्की जिल्ला सभापति यदुनाथ अधिकारी नेतृत्वको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडिओ) भरतमणी पाण्डेलाई निषेधित क्षेत्र हटाउन माग गरेको हो ।
सभापति अधिकारीद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ,‘पोखराको मूख्य पर्यटकीय क्षेत्र लेकसाईड प्रवेशको मूख्य मार्ग नै दुई महिनाभन्दा बढी समयदेखी निषेधित क्षेत्र कायम रहँदा पर्यटकहरुको आवागमन तथा व्यापार व्यवसायमा असर परिरहेको र अंग्रेजी नयाँ वर्षको अवसरमा हुन लागेको सडक महोत्सव सहितका कार्यक्रमहरुलाई समेत मध्यनजर गरी पर्यटन सम्बद्ध संघ संस्थाहरुले निषेधित क्षेत्र हटाउन पहलका लागि पार्टीलाई गरेको आग्रह तथा सभापति लामिछाने विरुद्ध लगाइएको अभियोगको हकमा अदालती प्रक्रियलाई पूर्ण रुपमा सघाउने पार्टी सचिवालयको निर्णय समेतका आधारमा कार्तिक ३ गते देखी जारी गरिएको निषेधित क्षेत्र हटाउनका लागि अनुरोध छ ।’
निषेधित क्षेत्रका कारण आवागमन रोकिँदा यात्रुहरुले सास्ती खेप्नुका साथै जनजीवन प्रभावित भइरहरेको प्रमुख जिल्ला अधिकारी पाण्डेलाई बुझाइएको पत्रमा उल्लेख छ ।