राष्ट्रिय प्राणी उद्यानको रोकिएका पूर्वाधार निर्माणलाई प्राथमिकता दिने छौं : मन्त्री शाही

भक्तपुर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सूर्यविनायकमा रहेको राष्ट्रिय प्राणी उद्यानको रोकिएका पूर्वाधार निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री शाहीले राष्ट्रिय प्राणी उद्यानका पूर्वाधार निर्माण गर्न मन्त्रालय तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।

आगामी आर्थिक वर्षमा करिब एक अर्ब बजेट विनियोजन गरेर अन्तर्राष्ट्रियस्तरको उद्यान बनाउन प्रतिबद्ध रहेको उनले बताए । मन्त्री ठकुरीले भने, ‘यो प्राणी उद्यानको विकल्प छैन, त्यसैले आगामी आर्थिक वर्षमा एक अर्ब बजेट विनियोजन गरेर अन्तर्राष्ट्रियस्तरको उद्यान बनाउन मेरो प्रयत्न रहनेछ, यो आयोजना सफल पार्न म हरसम्भव प्रयास गर्नेछु ।’

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले राष्ट्रिय प्राणी उद्यानले मुलुकको पर्यटन विकासमा ठूलो योगदान दिने बताउँदै यसलाई छिटो सम्पन्न गर्न सरकारले चासो दिनुपर्ने बताए ।

उनले यो परियोजनालाई ‘मेगा प्रोजेक्ट’को रुपमा लिएको बताउँदै पूर्वाधार निर्माणमा पूर्णता पाउने वित्तिकै सूर्यविनायक मात्रै नभइ देशलाई लाभ दिने बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा नरेश सुवेदीले आव ०७३/०७४ को बजेटमा ‘एक प्रदेश, एक प्राणी उद्यान’ स्थापना गर्ने नीति अनुसार काम थालेको भएपनि आठ वर्षपछि कार्यालयको भवन एउटा बनेको तर त्यसपछि थप काम हुन नसकेको बताए ।

उनले सरकारले बनाउन नसक्ने भए कोषले दाताहरूबाट पुँजी संकलन गरेर निर्माण पूरा गर्न तयार रहेको बताए । सरकारले ६० वर्षका लागि कोषलाई भाडामा दिएमा पाँचदेखि १० वर्षभित्रमा प्राणी उद्यानको सम्पूर्ण निर्माण सम्पन्न गर्ने उनको भनाइ थियो ।

राष्ट्रिय प्राणी उद्यानका प्रमुख भूपेन्द्र यादवले सरकारको उदासिनताका कारण निर्माण रोकिएको बताउँदै यसलाई छिटो अघि बढाउन स्थानीय सरकार र सङ्घीय सरकारबीच सहकार्य गरी अघि बढ्न आवश्यक रहेको धारणा राखे ।

नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले छिटो निर्माण सम्पन्न गर्न मिडियाले पनि दबाब दिनु पर्नेमा जोड दिए । वि.सं २०७१ माघ २९ को मन्त्रिपरिषद्को निर्णयबाट प्राणी उद्यान निर्माणका लागि निर्देशन तयार पारेर दिएपनि पूर्वाधार निर्माण सुस्त गतिमा छ ।

भक्तपुरको सूर्यविनायक स्थित दुई ४५ हेक्टर सामुदायिक तथा सरकारी वनमा निर्माण हुन लागेको उक्त उद्यान अन्तर्राष्ट्रियस्तरको पर्यटकीय केन्द्रको रुपमा निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *