८१ वर्षीय षडानन्दले दिए बालकोटमा हत्या भएका छोरा र नातिलाई दागबत्ती
काठमाडौँ । भक्तपुरको बालकोटमा हत्या गरेको अवस्थामा फेला परेका बाबुछोराको अन्त्येष्टि गरिएको छ ।
मृत अवस्थामा भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको अन्त्येष्टि गरिएको हो । मृतकलाई ८१ वर्षीय षडानन्द आचार्यले दागबत्ती दिएका हुन् । षडानन्द कूलप्रसादका बुवा हुन् ।
कुलप्रसाद र प्रवीणको हत्या कुलप्रसादकै जेठा छोरा मिलनले गरेका थिए । उनले आफूले हत्या गरेको प्रहरीसामु स्वीकार गरिसकेका छन् ।
गत सोमबार भक्तपुरको सूर्य विनायक नगरपालिका– २, बालकोटस्थित डेरामा खोटाङका ५६ वर्षीय कूलप्रसाद आचार्य र २२ वर्षीय कान्छा छोरा प्रवीण मृत भेटिएका थिए ।
पढाइका लागि बालकोटमा बस्दै आएका छोराको कोठामा आएका बाबुसहित भाइलाई मिलनले हत्या गरेका थिए ।
पारिवारिक तनावका कारण आफूले बुवा र भाइको हत्या गरेको उनले स्वीकारेको प्रहरीले जनाएको छ ।
उनले आफू लोकसेवाको परीक्षामा फेल भएको र बुवा पनि डिप्रेसनको बिरामी भएका कारण बुवा र भाइको हत्या गरेको बताएका थिए ।
‘म पनि धेरै पटक लोकसेवाको परीक्षामा फेल भएँ, बुवा पनि डिप्रेसनमा हुनुहुन्थ्यो,’ उनले प्रहरीलाई भने,‘पारिवारिक तनावकै कारण म यस्तो निर्णयमा पुगेँ ।’