पालो कुर्दै रवि, आज होला त बयान ?
काठमाडौं । मुद्दा दायर भएको २ दिनसम्म पनि अदालतमा पुगेर बयानका लागि पालो कुरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रवि लामिछानेको बयान आज सुरु हुने भएको छ ।
सोमबार र मंगलबार अदालतमा लगिए पनि पालो नआएको र बुधबार सार्वजनिक बिदा भएका कारण अदालत नखुलेका कारण रविको बयानमा ढिलाई भएको हो । मुद्दा दायर हुनासाथ प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रविलाई संघीय संसदको सांसद पदवाट निलम्बन गरिसकेका छन् ।
मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिए पछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिन सुरु भएको थियो । जसका कारण रविलाई अदालतमा लगिए पनि बयान भने सुरु हुन सकेको थिएन । आज पछाईको बयानपछि रविको बयान सुरु हुने जनाइएको छ ।
जोशीको भने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा न्यायाधीश नितिज राईले अदालतमा लिएको बयान सकिएको छ । छविको बयान मंगलबार सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान सुरु गरिएको छ । अब रबिको पालो आउने अनुमान गरिएको छ ।
कास्की अदालतको बेन्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।