एमालेमा आलोचना सुन्न नचाहने नेतृत्व
काठमाडौं । एमालेले पार्टीभित्र फरक मत राख्ने र नेतृत्वमाथि प्रश्न उठाउनेलाई ‘अनुशासनको डन्डा’ लगाएर निस्तेज पार्ने रणनीति अंगीकार गरेको छ । पार्टी निर्णय र नेतृत्वको नियतमाथि प्रश्न उठाउने तीन केन्द्रीय नेतामाथि अनुशासनको कारबाही गरेर एमालेले आलोचकलाई किनारा लगाउने रणनीतिको उदाहरण पेस गरेको हो ।
पार्टीले पूर्वउपाध्यक्ष भीम रावललाई संगठन सदस्यबाटै निष्कासन गरेको छ भने स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन गरेको छ । यी कारबाहीका पछाडि पार्टी नेतृत्वको निरंकुश शैली र आलोचना सहन नसक्ने प्रवृत्तिको प्रभाव रहेको विश्लेषकहरूको ठहर छ ।
पार्टीभित्र विवादको केन्द्रबिन्दु बनेको विषय हो- भाटभटेनीका मालिक मीनबहादुर गुरुङबाट पार्टी कार्यालयका लागि करिब एक अर्ब मूल्य बराबरको जग्गा दान लिने निर्णय । गुरुङ अदालतबाट कर छलीको मुद्दामा दोषी ठहरिएका र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेका व्यवसायी हुन् । यस्तो व्यक्तिबाट दान लिनु उचित नभएको भन्दै भीम रावल, बिन्दा पाण्डे, र उषाकिरण तिमिल्सिनाले विरोध जनाएका थिए । नेताहरूको आलोचना र सार्वजनिक अभिव्यक्तिलाई पार्टीले ‘अनुशासन उल्लंघन’ को संज्ञा दिँदै उनीहरूमाथि कारबाही गरेको हो। पार्टी नेतृत्वले यो विषयलाई संगठनभित्र ‘फरक मत र गुटबन्दी’ को रुपमा व्याख्या गरेको छ ।
भीम रावल निष्कासित
पूर्वउपाध्यक्ष भीम रावलले पार्टी नेतृत्वसँग लामो समयदेखि असहमति राख्दै आएका थिए । चितवनमा सम्पन्न दसौँ महाधिवेशनमा अध्यक्ष पदका लागि केपी ओलीसँग प्रतिस्पर्धा गरेका रावलले त्यसपछिका जिम्मेवारीहरू अस्वीकार गर्दै आएका थिए । महाधिवेशनपछि उनलाई केन्द्रीय सल्लाहकारको भूमिका दिन खोजिएको थियो, तर उनले त्यो जिम्मेवारी पनि नस्विकारेपछि पार्टीसँग दूरी बढाउँदै आएका थिए ।
पछिल्ला समय उनले पार्टी नेतृत्व र नीतिहरूको खुलेरै आलोचना गर्न थालेका थिए। यही क्रममा सचिवालयले गत कात्तिक ६ गते उनलाई स्पष्टीकरण मागेको थियो । तर, उनले स्पष्टीकरणको कुनै औचित्य नभएको भन्दै जवाफ दिन अस्वीकार गरे । पार्टीले यसलाई ‘पार्टीलाई कमजोर बनाउने’ अभिव्यक्ति र गतिविधि ठहर गर्दै सदस्यताबाटै निष्कासन गरेको हो ।
नेता रावलले कारबाहीको निर्णयको प्रतिवाद गरेका छन् । ‘एमालेको निर्णयभन्दा पनि मूलतः यो ओलीको निरंकुश शैली हो । यसले ममाथि अन्याय गरेको छ । जसका विरुद्धमा लड्छु भन्थे, उसैसँग मिलेर ओलीले प्रधानमन्त्री पद लिए । मैले पार्टीमै बसेर मूलतः राष्ट्र, राष्ट्रियताको रक्षा गरिरहेँ, उनी विदेशीसामु लम्पसार परे,’ उनले भने ।
निलम्बनमा पाण्डे र तिमिल्सिना
स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले जग्गा दान विवादमा सार्वजनिक रूपमा पार्टी निर्णयको आलोचना गरेका थिए । पार्टीले उनीहरूलाई स्पष्टीकरण सोधेपछि जवाफ दिए पनि आत्मालोचना नगरेको भन्दै जिम्मेवारीबाट ६ महिनाका लागि निलम्बन गरेको छ । बिन्दा पाण्डेले पार्टी हितका लागि ध्यानाकर्षण गराएको बताउँदै यो कारबाहीले पार्टीलाई फाइदा भन्दा क्षति पुर्याउने बताएकी छिन् । उनले भनिन्, ‘यसरी जाँदा पार्टीको कार्ययोजनाअनुसार एमाले बलियो निर्णायक राष्ट्रिय शक्ति बन्न सक्ने र मिसन ८४ को लक्ष्य पूरा हुन्छ भनिएको हो । तर, अब अहिलेकै तरिकाले त्यो दीर्घकालीन लक्ष्य पूरा हुन्छ- हुँदैन पर्खिनैपर्ने हुन्छ ।’
उषाकिरण तिमिल्सिनाले कारबाहीलाई पञ्चायती शैलीको नक्कल भन्दै नेतृत्वमाथि गम्भीर प्रश्न उठाइन् । ‘आम कार्यकर्ता, तिनको लगाव, मेहनत र चासोको अगाध माया लाग्छ,’ उनले भनिन्, ‘पञ्चायतविरुद्ध लडेर आउनुभएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नुभएको भए हुन्थ्यो ।’
नेतृत्वको निरंकुशता र लोकतन्त्रमा ह्रास
पार्टीभित्रको पछिल्लो घटनाक्रमलाई लिएर राजनीतिक विश्लेषकहरूले एमालेभित्र आन्तरिक लोकतन्त्र समाप्त हुँदै गएको ठहर गरेका छन् । विश्लेषक कृष्ण पोखरेलका अनुसार भीम रावलमाथिको कारबाहीले पार्टीभित्र फरक मत राख्ने अधिकार समाप्त भएको देखिन्छ । ‘भीम रावलले चुनाव जित्न सक्ने नेता थिएनन् । तर, ओलीको नेतृत्वसँग प्रतिस्पर्धा गरेर पार्टीभित्र आन्तरिक लोकतन्त्र जीवित छ भन्ने सन्देश दिएका थिए । अहिले त्यही प्रतिस्पर्धा नै अपराधसरह ठहरियो,’ पोखरेलले भने ।
ओलीको नेतृत्व शैलीमा चिनियाँ मोडेलको प्रभाव
केपी ओलीको नेतृत्वमा एमालेभित्र आलोचना सहनै नसक्ने र सबैलाई गोलबद्ध गर्न खोज्ने प्रयास स्पष्ट देखिएको छ । ओलीले चीनको कम्युनिस्ट पार्टीजस्तै अनुशासित र एकताबद्ध शैली अपनाउँदै पार्टीभित्र आलोचना गर्ने ठाउँ नराख्न खोजेको विश्लेषण गरिन्छ ।
पार्टीको एक कार्यक्रममा ओलीले चीनको प्रशंसा गर्दै त्यहाँको कम्युनिस्ट पार्टीमा फरक मत आउने सम्भावना नहुने कुरा उल्लेख गरेका थिए। ‘९ करोडभन्दा बढी सदस्य भएको पार्टीमा कुनै फरक मत आउँदैन । नेतृत्वका वरिपरि सबै गोलबद्ध हुन्छन्,’ उनले भनेका थिए ।
पार्टीले २०८४ को निर्वाचनमा निर्णायक राष्ट्रिय शक्ति बन्ने लक्ष्यसहित अघि बढ्ने दाबी गरे पनि आन्तरिक कलह र फरक मत दबाउने प्रवृत्तिले संगठनलाई कति प्रभाव पार्छ भन्ने चिन्ता बढेको छ । पार्टीभित्र फरक मतलाई दबाउने यो क्रमले संगठनभित्रको ऊर्जा र सदस्यहरूको मनोबलमा दीर्घकालीन असर गर्ने खतरा देखिएको छ । विश्लेषकहरूका अनुसार नेतृत्वले आलोचनालाई दबाउने भन्दा संवाद र समन्वयलाई प्राथमिकता दिए मात्र पार्टी सुदृढ हुने सम्भावना रहन्छ ।