नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुन्थ्यो : उषाकिरण तिम्सिना

काठमाडौं । एमालेकी निलम्बित केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले आफूलगायत नेतालाई निलम्बन र निष्कासन गर्ने निर्णय गणतान्त्रिक पद्धतिविपरीत भएको प्रतिक्रिया दिएकी छन् । पार्टीमाथि प्रश्न उठिरहेका बेला पार्टीले आफूलाई निलम्बित गरेकोमा उनको असन्तुष्टि छ ।

केन्द्रीय सचिवालयको बुधबारको बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ भने स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको छ । मीनबहादुर गुरुङले पार्टी केन्द्रीय कार्यालयका लागि जग्गा र भवन दान दिने र एमालेले लिने निर्णयको आलोचना गरेकामा पाण्डे र तिम्सिना निलम्बनमा परेका हुन् ।

यसअघि उनीहरूलाई लिखित स्पष्टीकरण सोधिएको थियो । पार्टी सचिवालयले निलम्बनको निर्णय लिइरहेका बेला आफू नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने गाउँपालिका कमिटीका अधिवेशन सम्पन्न गरेर फर्किइरहेको तिम्सिनाले जानकारी दिइन् । उनी नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ को इन्चार्ज हुन् ।

पार्टी सचिवालयले लिएको निलम्बनबारे उनले भनिन्, ‘यो नगर्नुपर्थ्यो । यो त गणतन्त्र हो, हाम्रा पञ्चायतविरुद्ध लडेर आएका नेताहरू नेतृत्वमा छन् । प्रजातन्त्र आयो, गणतन्त्र आयो । यो गणतान्त्रिक पद्धति र प्राणलीलाई नसुहाउने काम भयो । पञ्चायतविरुद्ध लडेर आउनुभएका नेतृत्वले पञ्चकै नक्कल नगर्नुभएको भए हुन्थ्यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *