अस्ट्रेलियाका १९ वर्षीय ब्याटरमाथि कोहलीले गरे दुर्व्यवहार

काठमाडौं । भारत र अस्ट्रेलियाबीचको खेलमा विवाद सिर्जना भएको छ । भारतीय ब्याटर विराट कोहली र अस्ट्रेलियाका युवा ब्याटर साम कन्स्टासबीच बिवाद भएको हो ।

बिहीबार मेलबर्नमा सुरू भएको बक्सिङ डे टेस्टको पहिलो दिन विराट कोहली र साम कन्स्टास विवादमा उत्रिएका हुन् ।

बोर्डर–गावस्कर ट्रफीअन्तर्गत बिहीबार सुरु भएको चौथो टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि युवा ब्याटर साम कन्स्टासले डेब्यू गरे ।

१९ वर्षीय कन्स्टास खेलको सुरुदेखि नै भारतीय बलरमाथि हावी देखिएका थिए । उनले विशेषगरी भारतका स्टार बलर जसप्रित बुमराहलाई निशाना बनाएका थिए ।

अनुभवी भारतीय खेलाडी कोहलीले आज मात्रै डेब्यू खेल खेलेका अस्ट्रेलियन युवा ब्याटर कोन्स्टासलाई दिएको ठक्करले यति बेला अन्तर्राष्ट्रिय क्रिकेट समुदायमा चर्चाको विषय बनेको छ ।

बोर्डर–गावस्कर टेस्ट सिरिज अन्तर्गत मेलबर्नमा जारी ‘बक्सिङ डे’ टेस्टको पहिलो दिन(बिहीबार) नै भएको यो घटनाको चर्चा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएको छ ।

यो खेलमा अस्ट्रेलियाले सन् २००५ मा जन्मिएका १९ वर्ष ८५ दिनका युवा ब्याटर कोन्स्टासलाई ओपनिङमा उतारेको थियो । उनीसँगै अर्का अनुभवी ब्याटर ३८ वर्षीय उस्मान खवाजा मैदानमा उत्रिएका थिए ।

डेब्यू खेलको पारीको सुरुवातदेखि नै कोस्टान्स भारतीय अनुभवी दिग्गज बलर जसप्रित बुमराह र मोहम्मद सिराजको बलमाथि जाइ लागेर आक्रमक सुरुवात गरे । उनले तावडतोड सुरुवात गरेपछि भारतीय अनुभवी बलर निरीह जस्तै देखिएका थिए । भारतलाई विकेट लिन हम्मे हम्मे परिरहेको देखिन्थ्यो । कप्तान रोहित शर्माको सबै प्रयास असफल प्राय देखिरहेको थियो ।

कोन्स्टासले बढी निसाना बुमराहलाई बनाइरहेका थिए । लगातार प्रयास गर्दा पनि आउट गर्न नसकेपछि भारतीय फास्ट बलर सिराज केही भनेर युवा कोन्स्टासलाई भड्काउन खोजिरहेका थिए । जुन रणनीति टेस्ट खेलमा अक्सर बलरहरू जमेका ब्याटरलाई भड्काउन गर्छन् ।

यस क्रममा सिराजले इनिङको १० ओभर बलिङ सकेर ओभर इन्जुरी सुरु भयो । कोन्स्टास काखीमा ब्याट च्यापेर स्ट्राइकबाट ननस्ट्राइकमा रहेका खवाजातिर अघि बढे । उनी आफ्नै तालमा हिँडिरहेका बेला कोहली आएर पाखुरा ठोक्काए ।

कोहलीको यो हर्कत देखेपछि भिडिओमा कोन्स्टासले केही भनिरहेको देखिन्छ । त्यसपछि कोहली रिसाएजस्तो देखिएर केही भन्न थाले ।

यो घटनापछि तनाव हुने देखेर खवाजा र अम्पायर आएर दुबैलाई सम्झाउँदै परिस्थिति सम्हालेको देखिन्छ ।

यही घटनापछि अहिले कोहली र कोन्स्टासको चर्चा भइरहेको छ । यसमा धेरैजसोले कोहलीको व्यवहारलाई दोष दिइरहेका छन् । कोहलीका समर्थकले उनले अन्जानमा ठक्कर दिन पुगेको बताइरहँदा विपक्षीहरूले उनले जानाजान ठक्कर दिएको भनिरहेका छन् ।

इग्ल्यान्डका पूर्व कप्तान माइकल भानले ‘म्याच रेफ्री’ले कोहलीको यो हर्कत जरुर हेर्ने दाबा गरेका छन् । ‘कोन्स्टास आफ्नो बाटोमा हिँडिरहेका थिए । विराटलाई हेर्नुहोस् त, बाटो बदलेका छन्,’ कमेन्ट्रीका दौरानमा उनले भनेका छन्, ‘विराट एक महान् खेलाडी हुन् । अनुभव पनि धेरै छ । जब उनी पछि फर्केर हेर्नेछन्, आफूलाई सोध्नेछन् मैले यस्तो किन गरेँ ?’

अस्ट्रेलियाका पूर्व कप्तान एवं महान् खेलाडी रिक्की पोन्टिङले पनि यसमा सरासर कोहलीको गल्ती रहेको बताएका छन् । ‘विराटले नै ठक्कर मारेर यो घटनाको सुरुवात गरेका हुन्,’ पोन्टिङले भनेका छन् ।

यस्तै भारतीय टिमका पूर्व प्रशिक्षक रवि शास्त्रीले पनि कोहलीको यो व्यवहारको आलोचना गरेका छन् । उनले पनि म्याच रेफ्रीले यो घटना हेर्नुपर्ने बताएका छन् ।

भारतीय टिमका पूर्व कप्तान सुनिल गावस्करले पनि कोहलीले यो घटनाबाट बच्ने सक्ने ठाउँ नरहेको बताएका छन् । ‘कथम् बाटोमा अर्को मान्छे आफ्नो सुरमा हिँडिरहेको छ भने तपाईँ बाटोबाट हट्न सक्नुहुन्छ । यसमा कोही सानो ठुलो हुन्न,’ गावस्करले भनेका छन् ।

पछि प्रतिक्रिया दिँदा भने कोन्स्टासले खेलका दौरानमा यस्तो भइरहने बताएका छन् । ‘यस्ता घटना मैदानमा हुन्छन् र मैदानमै रहन्छन्’, ब्रेकको समयमा कोन्स्टासले भनेका छन् । आफू स्वयं कोहलीको खेलको प्रशंसक रहेको समेत उनले भन्न भ्याएका छन् ।

पूर्व अम्पायर साइमन टफेलले कोहलीको यो हर्कतले उनीमाथि कारबाही हुनसक्ने प्रतिक्रिया दिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)को आचारसंहिता अनुसार क्रिकेटमा कुनै पनि किसिमको शारीरिक टकराबलाई बन्देज गरेको छ । कुनै खेलाडीले जानाजान वा लापरबाहीले अर्को खेलाडी वा अम्पायरसँग ठक्कर मारे आचारसंहिता उलङ्घन मानिन्छ ।

यसलाई म्याच रेफ्रीले लेभल–२ को अपराध मान्न सक्छन् । जसमा सम्बन्धित खेलाडीलाई तीन चार प्वाइन्ट पेनाल्टी लाग्न सक्छ । यसलाई ‘डिमिरेट प्वाइन्ट’ भनिन्छ । कोहलीका मामिलामा यस्तो भए अर्को खेलमा प्रतिबन्ध लाग्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *