विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही
काठमाडौं । भारतीय खेलाडी विराट कोहलीलाई आईसीसीले कारबाही गरेको छ ।
अस्ट्रेलियासँगको चौथो टेस्ट खेलका क्रममा विपक्षी टिमका खेलाडीलाई जानाजान धक्का दिएपछि कोहलीलाई आईसीसीले कारबाही गरेको हो ।
अस्ट्रेलियाका डेब्यूटेन्ट खेलाडी साम कोन्सटासलाई खेलका क्रममा नियतवश धक्का दिएपछि आईसीसीले कोहलीलाई कारबाही गरेको हो । आईसीसीले कोहलीको म्याच फीको २० प्रतिशत कटौती गर्नुका साथै एक डिमेरिट पोइन्ट पनि दिएको छ ।
एकपटक प्राप्त भएको डिमेरिट पोइन्ट २४ महिनासम्म रहिरहन्छ भने त्यस अवधिमा पाएका हरेक डिमेरिट पोइन्ट जोडिँदै जानेछ र सोही अनुसारको कारबाही हुने गर्छ ।
आईसीसीको कोड अफ कन्डक्ट अनुसार क्रिकेटमा कुनै पनि प्रकारको अनुपयुक्त शारीरिक गतिविधि निषेध गरिएको छ । लापरबाहीपूर्वक हिँड्नु, जानाजान अर्को खेलाडी वा अम्पायरलाई काँधमा धक्का दिएमा सीमाभन्दा बाहिर गएर खेलाडीहरूले यो नियम उल्लङ्घन गरेको मानिन्छ ।
चौथो टेस्टको १० औं ओभर सकिएपछि कोहलीले कन्स्टासलाई धक्का दिएपछि दुईबिच मुखामुख भएको थियो । तर, अष्ट्रेलियन ओपनर उस्मान ख्वाजाले हस्तक्षेप गर्दा त्यो लामो समयसम्म जान पाएन ।
घटनापछि रिप्ले आउँदा एकतर्फ गइरहेका कन्स्टासलाई अर्को छेउबाट आएर जानीजानी काँधमा ठक्कर दिएको देखिन्थ्यो ।